कञ्चनपुर, असार ८ गते । कञ्चनरुप नगरपालिका अन्तर्गतका व्यापारीहरुले नगरपालिकाले कर असुल्ने कामसँगै व्यापारीहरुको हकहितका लागि पनि सोच्नु पर्ने बताएका छन् । नगरपालिकाको आयोजनमा नगरभित्रका व्यापारीहरुसँग कर निर्धारणबारे शनिबार गरिएको अन्तक्रियामा व्यापारीहरुले सो कुरा बताएका हुन् ।
कञ्चनरुप व्यपार संघका अध्यक्ष चन्दन गुप्ताले नगरपालिकाभित्रका सबै व्यापारीहरुसँग सल्लाह सुझाव लिएपछि मात्रै कर निर्धारणको विषयमा औपचारिक रुपमा छलफल गर्ने बताएका थिए । संघका सचिव शशी साहले विवाह र श्राद्धका नाममा नगरपालिकाले नै भारतीय बजारबाट समान ल्याउन सिफारिस गर्ने गरेको भन्दै जनप्रतिनिधिहरुले कर कञ्चनपुरको व्यापारीबाट असुल्ने तर सहयोग भारतीय व्यापारीलाई गर्ने भन्दै प्रश्न गरेका थिए ।
संघका कोषाध्यक्ष घनश्याम गुप्ताले समान सस्तो पाइने नाममा भारतीय बजारमा नेपाली ग्राहक दैनिक रुपमा ठग्निे गरेको बताए । कोषाध्यक्ष गुप्ताले कञ्चनरुप पुरानो बजार भएपनि यहाँका किराना र कपडा पसलकाृ व्यापार बन्द गर्ने अवस्थामा रहेकोले त्यसतर्फ नगरपालिकाले पहल गर्नुपर्ने माँग गरे ।
व्यापारी शंकर बर्माले नगरपालिकाले कर मात्रै उठाउने कि बजार व्यवस्थापनमा पनि ध्यान दिने भनी प्रश्न गरेका थिए । बर्माले व्यापारीहरु समेत नगरपालिका माथि उठेको हेर्न चाहेको र त्यसमा योगदान गर्न तयार रहेको बताएका थिए । कञ्चनरुप नपाका प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रले नगरपालिका र व्यापार संघसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए । कर निर्धारणको सवालमा मात्रै नभई कञ्चनरुपको समग्र विकाश निमार्णमा व्यापारीहरुको महत्वपूर्ण भूमिका हुने भएकोले संस्थागत रुपमा मिलेर अघि बढ्न नगरपालिका तयार रहेको बताएका थिए । वडा नम्बर ८का वडाअध्यक्ष एवं राजश्व परामर्श समितिका सदस्य राजकुमार साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । वडाअध्यक्ष साहले व्यापार संघ र नगरपालिकाले संस्थागत सहकार्य गरेर धेरै काम गर्न सकिने भएकोले अगामी दिनमा मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले भने ‘ भारतीय बजारबाट आउने समान नगर प्रहरी लगाएर जफत गर्न सकिन्छ । तर त्यसको लागि सहकार्य हुनु आवश्यक छ ।’
कार्यक्रममा व्यापारी, जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो । कञ्चनरुप व्यापार संघले नगरभित्रका व्यापारीहरुको वृह्त भेला गरेर सुझाव संकलन गरेपछि पुन ः नगरपालिका र संघले संयुक्त रुपमा कर निर्धारण र व्यापारीहरुको हितको विषयमा छलफल गर्ने सहमित भएको छ ।
प्रतिक्रिया