कञ्चनपुर, मंसिर १२ गते । प्रदेश नं. २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले आईतबार कञ्चनरुप नगरपालिकाका तीन विद्यालयका १४२ जना छात्राहरुलाई साइकल वितरण गरेका छन् ।
कञ्चनपुर स्थित सर्वोदय माध्यमीक विद्यालयकमा गई कक्षा ८ मा अध्ययन गर्ने ६१ छात्रा,वडा नम्बर ७ आर्दशटोल स्थित भृकुटी माबिका २० जना छात्रा र वडा नम्बर ६ स्थित महेन्द्र जनता माबि बलुुवा सितापुरका ६१ जना छात्राहरुलाई तीन वटै विद्यालयले आयोजना गरेको साइकल वितरण कार्यक्रमको प्रमुख अथितिका रुपमा मन्त्री साहले साइकल वितरण गरेका थिए ।
साइकल पाएर छात्राहरु जति खुशी देखिन्थे, त्यति उनीहरुमा जिम्मेवारी र आश्चर्य पनि छर्लङ्गिएको देखिन्थ्यो । ‘पढाइमा त जहिल्यै पनि मेहेनेत र परिश्रम त गरिन्थ्यो नै तर साइकल पाएपछि भने हामी छात्राले पनि केही गरेर देखाउनै पर्छ भन्ने लागेको छ’ कार्यक्रमको समापनपछि सोधिएको जिज्ञासामा सर्वोदय माविको हाल कक्षा ८मा अध्ययनरत संध्याकुमारी पासवानले भनिन्,‘मुख्यमन्त्रीको अभियानबारे जानकारी पाएपछि मलाई मात्र होइन, हाम्रो विद्यालयको सबै छात्रालाई हामीले कमसेकम १२ कक्षासम्म पनि पढ्नै पर्छ भन्ने लागेको छ ।’
कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साहले चालु शैक्षिक शत्रमा प्रदेश नं. २ को आठ वटै जिल्लामा ३० हजार छात्रालाई साइकल वितरण गर्ने कार्यक्रम रहेको बताए । उनले प्रदेश नं. २ मा महिला जागरण निकै पिछडिएको अवस्थामा रहेकोले त्यो अवस्थालाई सुधार्न अहिल्यैदेखि नै विद्यालयस्तरबाट लागिपरेको बताइ ।
‘अलिकति जानेबुझेका र खर्चको जोहो गर्न सक्ने अभिभावकले आफ्ना वालवालिकालाई निजी विद्यालयमा अध्ययन गराउँछन जो हरतरहले कमजोर आर्थिक अवस्थाका वालवालिकादेखि अब्बल ठहरिन सक्छन्’, उनले भने,‘तर न्यून आर्थिकस्तर भएका अभिभावकलाई आफ्ना वालवालिकालाई पढाउन अति नै गा¥हो परेको हुन्छ, त्यस्ता अभिभावकको ध्यान मुश्किलले छोरीलाई भन्दा छोरालाई मात्र विद्यालय पठाउनेतर्फ केन्द्रित हुन्छ ।’
प्रदेश नं. २ को सरकारले न्यून आर्थिकस्तरको परिवारलाई केन्द्रमा राखेर बेटी बचाउ बेटी पढाउ भन्ने अभियान थालनी गरेको बताउँदै मन्त्री साहले माध्यमीक तहसम्म विद्यालयको अध्ययन निःशुल्क गरेर मात्र हुँदैन, त्यहाँसम्म पुग्न छात्रा र उनीहरुका अभिभावकलाई प्रेरणा र प्रोत्साहन पनि दिन सक्नुपर्छ, छात्राहरुलाई प्रदान गरेको साइकलले विद्यालय आउने समयको बचतका साथै दैनिक कामधन्दामा समेत सहयोग पु¥याउने भएकोले यसबाट छात्रा र अभिभावकलाई प्रेरणा र प्रोत्साहन दुवै मिल्ने बताए ।
प्रदेश नं. २ मा महिला शिक्षाको स्तर निकै कमजोर पाइएपछि मुख्यमन्त्री लालबाबु राउतको अवधारणा र सक्रियतामा गत २०७५ सालको माघ १ गतेदेखि प्रदेश नं. २ मा ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियान थालनी गरिएको छ । जुन अभियानलाई गत फागुन ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गरेको थियो ।
प्रदेश सरकारको सबैभन्दा महत्वाकांक्षी र चर्चित कार्यक्रमको रुपमा लिइएको ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियानले वालविवाह रोक्न तथा शिक्षामा छोरीको आकर्षण बढाउन विशेष भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ । अभियान अन्तर्गत छोरी शिक्षा वीमा, साइकल वितरण, सय वटा शौचालय निर्माण, १० हजार सेनेटरी प्याड वितरण गरिने कार्यक्रम छ ।
नेपाल पत्रकार महासघ प्रदेश २का सचिव भोला पासवानले छोरी शिक्षा वीमा कार्यक्रम अन्तर्गत माघ १ गतेपछि जन्मिएका छोरीले प्रदेश सरकारबाट २० वर्षपछि एकमुष्ठ एक लाख २५ हजार रुपैयाँ पाउने र प्रदेश निजामति सेवामा महिलालाई ५० प्रतिशत कोटा आरक्षण,महिलालाई लोकसेवा तयारी कक्षा लगायतका महत्वपूर्ण कार्यक्रम प्रदेश सरकारले संचालन गरेर संघियतालाई बलियो बनाउने तर्फ गरेका थिए ।
‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ योजना अन्तर्गत छोरीहरु जन्मिएपछि गरिएको वीमावापतको रकम प्राप्त गर्न केही सर्त राखिएका छन् । छोरीका अभिभावकले वीमा गराउँदा प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्नुपर्ने हुन्छ ।
उक्त प्रतिवद्धतापत्रमा कम्तीमा विद्यालय शिक्षा अन्तर्गत कक्षा १२ वा सो सरहको शिक्षा पूरा गराएको हुनुपर्छ । यस्तै, प्रचलित कानुनको अधीनमा रही छोरीको उमेर २० वर्ष पूरा नभएसम्म विवाह गराउन नपाउने प्रावधान समेत प्रतिवद्धता पत्रमा उल्लेख भएको बताइएको छ ।
सर्वोदय माबिका प्रअ तरानन्द मल्लिकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जसपाका केन्द्रिय सदस्य विकास तिवारी,कञ्चनरुप नगर अध्यक्ष सुदम्बर यादब,कञ्चनरुप वडा नम्बर ८का वडाअध्यक्ष राजकुमार साह,कञ्चनरुप नपाका नगरप्रमुख वसन्तकुमार मिश्रले प्रदेश सरकारको बेटी बचाऊ,बेटी बढाऊ अभियानबारे चर्चा गरेका थिए । विद्यालयका शिक्षक उमेश प्रसाद चौधरीले सहभागिहरुलाई स्वागत गरेका थिए ।
भृकुटी माबिमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष पूर्णप्रसाद भट्टराईको अध्यक्षताम कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जसपाका केन्द्रिय सदस्य विकास तिवारी,पत्रकार भोला पासवान,जसपा नेता सुदम्बर यादब,वडा नम्बर ७ का वडाअध्यक्ष हरिकृष्ण महतो,मेघराज पौडेल,कञ्चनरुप नपाका नगर प्रमुख वसन्तकुमार मिश्र लगायतले सम्बोधन गरेका थिए भने स्वागत विद्यालयका प्रअ अनुज गुप्ताले गरेका थिए ।
महेन्द्र जनता माबिमा विद्यालयका प्रअ मोहम्मद सलिमको अध्यक्षताम कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जसपाका केन्द्रिय सदस्य कल्पना चौधरी,वडा नम्बर ६ का वडाअध्यक्ष महम्द जिवरिल,कञ्चनरुप नपाका नगर प्रमुख वसन्तकुमार मिश्र लगायतले सम्बोधन गरेका थिए ।
विद्यालयको प्रगतिका लागि अहोरात्र खट्ने विद्यालयका प्रअ मोहम्मद सलिमको प्रंससा गरिएको थियो ।
प्रतिक्रिया