राजकुमार साह
कञ्चनपुर, मंसिर २१ गते । कञ्चनरुप नगरपालिकाका जनप्रतिनिधिहरुले चालुु आर्थि वर्षको लागि विनयोजन गरेको बजेटबाट गर्ने विकास निमार्ण गर्नका लागि छनौट भएका ९० प्रतिशत योजनाका लागि उपभोक्ता समिति गठन गरिसकेको छ तर योजना किताब अझै सार्वजनिक गरेको छैन ।
स्थानीय तहमा बजेट तर्जुमा, कार्यान्वयन, आर्थिक व्यवस्थापन तथा सम्पत्ति हस्तान्तरण सम्बन्धी निर्देशिका, २०७४मा आय, व्यय र भौतिक प्रगति विवरण मासिक, चौमासिक र वार्षिक रुपमा स्थानीय तहको कार्यालयमा सबैले देख्ने गरी अनिवार्य रुपमा सार्वजनिक गराउने व्यवस्था गर्नु पर्ने छ । कञ्चनरुप नगरपालिकाले तीन महिना अगाडी नै वडा कार्यालयहरुलाई योजनामा परेको बजेटको सिलिङ्ग पठाउँदै उपभोक्ता समिति गठन गर्न लगाएका थिए । अधिकाश वडाअध्यक्षहरुले आफनो पार्टीका कार्यकर्ताहरुलाई उपभोक्ता समितिमा राखेर गठन गरेका छ्रन ।
तर कञ्चनरुप नगरपालिकामा नगरसभामा समपन्न भएको ५ महिना बित्दा समेत योजनाको किताब सार्वजनिक गरेको छैनन् । वडाको योजना थाहा छ तर नगरको छैन वडाको योजनामा केके परे भन्ने थाहा भए पनि समग्र नगरपालिकामा केके योजना परे भन्ने थाहा नभएको जनप्रतिनिधि नै बताउँछन् । ‘जनताले केके कार्यक्रम प¥यो भनेर सोध्न आउँछन् । ङिच्च हाँसेर अझैसम्म थाहा छैन भनेर जवाफ दिनु पर्या छ’, कञ्चनरुप नगरपालिका एक वडाअध्यक्ष भन्छन्, ‘योजना स्वीकृत गर्न वडामा फाइल आउँछन् । नगरसभाबाट बजेट सार्वजनिक भएपछि तत्कालै वा भोलिपल्ट पालिकाहरूले राजपत्र वा वेबसाइटमार्फत बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ । तर बजेटसभा सकिएको झन्डै ५ महिना बितिसक्दा बजेट तथा कार्यक्रम सार्वजनिक हुन सकेको छैन । समयमा नै काम नहुनुले अन्तिममा असारे विकासलाई प्रोत्साहन गरेको देखिन्छ । जनता समाजवादी पार्टीका नेता रामेश्वर यादब भन्छन्, ‘यो समयमा सबै काजगी काम सकेर बस्दा बर्खा सकिनेबित्तिकै काम शुरु भएर समयमै काम सकिन्थ्यो । तर हालसम्म पनि बजेट केकेमा विनियोजन भयो भनेर थाहा नपाउनुले जनप्रतिनिधि हुनु र नहुनुमा तात्विक भिन्नता देखिएन ।’ सरकारले समयमै योजना बनाएर समयमै कार्यक्रम सम्पन्न गराउने उद्देश्यले असार १० भित्रै नगरपालिकामा बजेट पेश गरेर साउन १ देखि कार्यान्वयन गर्ने व्यवस्था गरेको छ ।
निर्णय भएका योजना अझैसम्म पनि प्रकाशित नगर्नेजस्ता प्रवृत्तिले नगरपालिका स्वेच्छाचारी बन्न खोजेको जसपा नेता यादब भन्छन,‘यत्रो दिनसम्म पनि कार्यक्रम प्रकाशित गर्न नसक्नु नगरपालिकाको लाचारपन हो । ’ ‘नीति नियम कार्यक्रम बनाएर जनतालाई पनि सूचना नदिनुले संवैधानिक मौलिक हकको हनन भएको छ ।’ बजेटका बारेमा कर्मचारीले नै थाहा नपाएपछि कसरी काम गर्ने भन्ने विषय अन्योल भएको छ । नगरपालिकाका एक विभागीय प्रमुखले नाम नखुलाउने शर्तमा भने, ‘कुन शीर्षकमा कति बजेट छ भन्ने विषयमा किताब हेरेर मात्रै थाहा हुन्छ । न पुस्तिका छापिएको छ न त वेबसाइटमै हालेको छ, कसरी काम गर्ने भन्ने अन्योलमा परेका छौँ ।’ यस्तो छ कानुनी व्यवस्था सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा मार्गदर्शन, २०७४ ले योजना तर्जुमा र बजेट कार्यान्वयन गर्ने विषयलाई स्पष्ट पारेको छ । निर्देशिकाको बुँदा ५ को ७.२ को घ मा असार मसान्त सम्म बजेट पास गरी सर्वसाधारणको जानकारीका लागि साउन १५ गतेसम्म वेब साइटमा अनिवार्य प्रकाशन गर्नुपर्छ ।
यस्तै, निर्देशिकाले बजेट कार्यान्वयनको विषय पनि स्पष्ट पारेको छ । नगर सभाले पास गरेको बढीमा २३ दिनभित्रमा सबै शाखा तथा वडामा बजेट अख्तियारी पठाउनुपर्ने प्रावधान भए पनि हालसम्म पनि नगरपालिकाले बजेट सिलिङ दिन सकेको छैन । निर्देशिकाको बुँदा नम्बर ६ मा विभिन्न ५ वटा चरणमा योजना कार्यान्वयन गर्नुपर्ने बताइएको छ । अवलोकित दैनिकले वितेको तीन महिनामा पटक पटक योजना किताब माग्दा समेत योजना शाखाले प्रशासन शाखालाई र प्रशासन शाखाले योजना शाखामा योजना किताव छ भन्दै पन्छिदै आएका छन् । दुुई दिनअघि कञ्चनरुप नगरपालिका प्रमुखसँग अवलोकित दैनिकले योजना किताबको बारेमा बुुझदा तयारी भइरहेको होला भन्ने गैर जिम्मेबार जवाफ दिएको थियो । कञ्चनरुप नगरपालिका–८का बच्चु सरबरियाले कञ्चनरुप नगरपालिकाका प्रमुखले मुखले पार्दशीता गरेको भन्ने तर नगरसभा सम्पन्न भएको ५ महिनामा पनि योजना किताब सार्वजनिक हुन नसक्नुु गम्भिर विषय हो ।
प्रतिक्रिया