किशोर पासवान
कञ्चनपुर, भदौ १८ गते । कञ्चनरुप नगरपालिकालाई बालमैत्री नगर बनाउने वितेको ५ वर्षमा नगरपालिकाले ३ करोडभन्दा बढी रकम खर्च गरेपनि बालबालिकाको अवस्था नाजुक छ ।
नगरपालिकाका विभिन्न होटलहरुमा अझै दुई दर्जनभन्दा बढी बालबालिका पढाई छोडेर काम गर्न बाध्य छन् । विद्यालयमा ४० प्रतिशतभन्दा पनि कम विद्यार्थीहरुको उपस्थिती छ । आर्थिक अभावका कारण अभिभावकहरु बच्चालाई चरवाही राखेका छन् ।
तर नगरपालिका बालमैत्री भएको भन्दै डङ्का पिट्दैछन् । कञ्चनरुप नगरपालिकाको बालमैत्री स्थानीय शासन घोषणा पश्चात दिगोपनाको लागि रणनीतिक योजना पुस्तिकाका अनुसार नगरपालिकामा तीन आर्थिक वर्षमा बालमैत्री नगर घोषणाका लागि एक करोड ३९ लाख ५१ हजार ५ सय ४८ रुपैया र दातृ निकाय युनिसेफले ६० लाख रकम खर्च गरिएको उल्लेख छ । बालमैत्रीको लागि सुरुवाती दुई वर्ष आर्थिक वर्षमा बालमैत्रीका लागि गरिएको खर्च जोड्दा ३ करोडभन्दा बढी खर्च भइसकेको छ । यतिका रकम बालबालिकाका नाममा खर्चिएपनि उपलब्धी भने सोचे जस्तो नभएको नेपाली काग्रेसका क्षेत्रिय सभापति ललन प्रसाद गुप्ताले बताए ।
‘नगरपालिकामा शिक्षा र बालबालिकाको अवस्था नाजुक छ तर नगरपालिका ‘फर्जी’ बालमैत्री घोषणा गर्न उद्यत रहेको छ ।’ नगरप्रमुखको प्रत्यासी समेत रहेका गुप्ताले नगरपालिकाभित्र बालश्रमिकको अवस्था भयावह रहेपनि नगरपालिकाले कार्पेट मुनि फोहोर लुकाएजस्तो बालमैत्री नगर घोषणा गर्न गइरहेको बताए ।
घोषणा कार्यक्रम गर्न ८ लााख ५० हजार खर्च ः नगरपालिकालाई बालमैत्री नगर
घोषणा गर्न ८ लाख ५० हजार रकम विनयोजन गरिएको समाजिक शाखा संयोजक राजेश यादबले बताए । संयोजक यादबका अनुसार टेण्ट निमार्णका लागि सवा २ लाख रकम विनयोजन गरेको र कार्यक्रममा आउने सहभागीलाई खाजाको लागि १ लाख रकम विनयोजन गरेको बताए । घोषणा कार्यक्रमका लागि युनिसेफले ब्यानर र फलेक्स प्रिन्टका लागि २ लाख रकम सहयोग गर्ने संयोजक यादबले जनाए । घोषणा कार्यक्रमका लागि नगरपालिका–८ स्थित विद्यालय प्राङ्गणमा टेण्ट निमार्ण थालिएपछि विद्यार्थीहरुको पढाईमा असर परेको एक शिक्षकले बताए ।
नगरपालिकाले घोषणा समारोह सफल पार्न नगरपालिका भित्रका सबै निजी तथा सार्वजनिक विद्यालय,संघ संस्था र नगरपालिका भरीका सबै कर्मचारी परिचालन गरेको छ ।
प्रतिक्रिया