कञ्चनरुप नपाले विद्युत प्राधिकरणलाई ३१ लाख बक्यौता रकम तिर्न बाँकी, २४ घण्टा नबित्दै भेपरलाईटको लाइन काटियो

  • असार १९, २0८0
  • 0
...

किशोर पासवान
कञ्चनपुर,असार १९ गते ।
विद्युत कार्यालयको निर्देशन अवज्ञा गर्दै  कञ्चनरुप नगरपालिकाका  प्रमुख ललन प्रसाद गुप्ताले जडान गरेको भेपरलाईटको लाइन २४ घण्टा नबित्दै काटिएको छ । कञ्चनरुप नपालले विद्युत प्राधिकरणलाई ३१ लाख बक्यौता रकम तिर्न बाँकी छ ।

नेपाल विद्युतप्राधिकरण कञ्चनपुर वितरण केन्द्रले पटक पटक कञ्चनरुप नगरपालिकालाई विना अनुमति सडकमा बत्ती जडान नगर्न लिखित रुपमा निर्देशन दिएपनि त्यसलाई  लत्याउँदै कञ्चनरुपका नगरप्रमुख ललन प्रसाद गुप्ताले पालिकाको मुख्य सडकमा ८ ओटा भेपरलाईट जडान गरेका थिए । 

कञ्चनरुपको बेरियर २ ठाउँ,वडा नम्बर ९,११ र कञ्चनपुर बजार,नहर चौक लगायतको ठाउँमा नगरप्रमुख गुप्ताले नगरस्तरीय कोषबाट भेपरलाईट जडान गराएका थिए । नेपाल विद्युत प्राधिकरण कञ्चनपुर  वितरण केन्द्रका प्रमुख अरुणकुमार साहले  कञ्चनरुप नगरपालिकालाई लिखित र मौखिक रुपमा पटक पटक विना सम्झौता बत्ती जडान नगर्न भन्दा पनि नमानेपछि भेवरलाईटको लाईन काटिएको बताए ।

विद्युत प्राधिकरणका प्रमुख साहका अनुसार कञ्चनरुप नगरपालिकाले विद्युत कार्यालयलाई करिब ३१ लाख बक्यौता रकम बुझाउन बाँकी छ । प्रमुख साहले भने,‘हामीले निःशुल्क रुपमा मिटर जडान गरीदिने आग्रह गर्दा समेत पालिकाले अटेरी गरेपछि बाध्य भएर भेपरलाईटको लाइन काटेका छौं ।’

भेपरलाईटको लाइन काट्न जादा सोमबार राति वडा नम्बर ९ र ११मा केही जनप्रतिनिधि र स्थानीयहरुले विद्युतको कर्मचारीहरुलाई नोकझोक गरेका थिए । केही जनप्रतिनिधिहरुले विद्युतका कर्मचारीहरुलाई अवरोध गरेको खवर भएपछि प्रहरी परिचालन गर्नु परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी दिपककुमार रायले बताए ।

 

प्रतिक्रिया