कञ्चनरुप नगरपालिकाका सवारी साधन पार्टीको व्यक्तीगत काममा प्रयोग भएको भन्दै चार दलद्वारा ध्यानाकर्षण

  • असार ३१, २0८0
  • 0
...

कञ्चनपुर,असार ३१ गते । कञ्चनरुप नगरपालिकामा चार दलले सहरी खानेपानी तथा सरसफाइ आयोजनाको गाडी पार्टीको काममा प्रयोग भएर दुर्घटना भएको विषयमा छानविन गर्न माग गरेको छ । 
नेपाली काँग्रेसका नगर अध्यक्ष कैलास साह, नेकपा माओवादी केन्द्रका राजकुमार यादब, जनता समाजवादीका नगरअध्यक्ष सुदम्बर यादव, जनमतका नगरअध्यक्ष अनिल पजियारले आइतवार कञ्चनरुप नगरपालिकाकाका नगरप्रमुख ललन प्रसाद गुप्ता र प्रमुख प्रसाशकीय अधिकृत पुरुषोतम घिमिरेलाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका थिए । 

शुक्रबार सहरी खानेपानी तथा सरसफाइ आयोजनाका गाडी नेकपा एमालेका जिल्ला कमिटी सदस्य समेत रहेका भुवन केशी, कञ्चनरुप  नगरपालिका वडा नं. ६ का वडाध्यक्ष बचुलाल चौधरी सवार कंचनपुर सहरी खानेपानी तथा सरसफाइ आयोजना सप्तरीको बा–प्र ०१–०२७ च ४६४७ नम्बरको गाडी कञ्चनपुरबाट राजविराज जाँदै गरेको  दिउँसो साढे १ बजे आफै अनियंत्रित भई दुर्घटना भएको थियो । 

कञ्चनरुप नगरपालिकाको गाडी पटकपटक दुर्घटनामा परेको र पार्टीगत काममा प्रयोग भएको भन्दै घटनाको बारेमा छानविन गर्न माग गरेका हुन । चार दलको संयुक्त बैठकले कञ्चनरुप नगरपालिकाको सरकारी सवारी साधनहरु पटकपटक व्यक्तिगत कामको लागि प्रयोग भएको पाईएको र तेलमा लाखौ रकम खर्च भएकोले कार्यालय समय पछि अतिआवश्यक काम बाहेक प्रयोग नगर्न र गाडी को लगबुक राख्न माग गरेको छ । 

स्मरण रहोस कञ्चनरुप नगरपालिकामा यस अघि नेपाली काँग्रेसको बहुमत रहेको बेला नगरपालिकाको गाडी व्यक्तीगत काममा प्रयोग गर्दा २ जनाको ज्यान गएको थियो र नपाले २ जनालाई क्षतीपुर्ती बापत ११ लाख उपलब्ध गराएको थियो । 

प्रतिक्रिया