कञ्चनपुर,साउन ६ गते । सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुरको दलित परिवारका ४ जना महिलाहरु माथि गैरदलित पुरुषहरुले कुटपिट गरेका छन् ।
गत असार २८ गते खेतमा काम गरिरहेका वेला वडा नं. ४ स्थित वलार्दहमा चौधरी समुदायका पुरुषहरुले उनीहरुमाथि निर्घात कुटपिट गरेका हुन । कुटाई खानेमा मंगल रामकी पत्नि ३९ वर्षिया मननदेवी राम, उनका देउरानीहरु ३६ वर्षिया सुनितादेवी राम, ३२ वर्षिया सरोदेवी राम र २८ वर्षिया आरती राम छन् । बलार्दहका देबानन्द चौधरी, लक्ष्मीदेवी चौधरी, रमेश चौधरी, सिर्जना चौधरी, बविता चौधरी र बबिताका देवरलगायतले उनीहरुलाई हत्या गर्ने योजना अनुसार बाँस र भाटाले कुटपिट गरेका थिए ।
कुटपिटका कारण गम्भिर घाईते भएका उनीहरुको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये आरतीको अवस्था अहिले पनि सुधार भएको छैन । अहिले पनि वेला वेलामा आफै वेहोस भएर लड्ने गरेको मंगल रामले वताए । उनका अनुसार चौधरीहरुले विगत २÷३ वर्षदेखि जग्गाको विषयमा विवाद गर्दै आएका थिए । पछिल्लो पटक पुरुषहरु कोही नभएका बेला धान रोपीरहेका महिलाहरुलाई घेरा हालेर कुटपिट गरिएको उनको भनाई छ । ‘म पुग्दा कान्छि वुहारीलाई पुर्न कोही खाल्टो खन्दै थिए, कोही कपालमा समातेर घिर्सादै थिए । म छुट्याउन जाँदा मलाई पनि कुटे’ उनले भने ‘उपचार गराएर फर्केपछि प्रहरीले पीडकलाई कारवाही गर्ने कुरामा वास्ता गरेको छैन ।’
राजनीतिक दबाव छ’ भन्दै प्रहरी पन्छिने गरेको पीडितको गुनासो छ । समाजका कतिपय ब्यक्तिहरु पीडकसँगै मिल्न दवाव दिईरहेको पनि पीडित रामले वताए । ‘उपचारमा मात्रै करिव ४ लाख रुपैयाँ खर्च भयो । अहिले सवै मिलेर १ लाख लिएर मिल्नु पर्छ भन्छन । कसरी मिल्न तयार हुनु।’– उनले भने,‘पटक पटक छलफल भनेर इलाका प्रहरी कार्यालयमा बोलाउने र दबाव दिने काम भईरहेको छ ।’ ‘प्रहरीले पनि हामीलाई नै हप्काउँछन् । उजुरी पनि दर्ता भएको छैन ।’ उनले भने –‘इलाका प्रहरी कार्यालयमा जाँदा उल्टै धम्क्याउने र डर देखाउने काम गर्छन ।’ इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी दिपक रायले पिडितले निबेदन दिएको बताउँदै भने ‘निवेदन दिएकोले छलफल गर्न भनेका छौ तर जाहेरी आए कानुन अनुसार कारवाही गर्छौ ।’
प्रतिक्रिया