किशोर पासवान
कञ्चनपुर,भदौं ११ गते । कञ्चनरुप नगरपालिकाले विना एजेण्डा कार्यपालिकाको बैठक राखेको पाइएको छ ।
कञ्चनरुप नगरपालिकाले सोमबार दिउँसो १२ बजे कार्यपालिकाको बैठक राखेको छ । तर विषय भने किटान गरिएको छैन । विविध विषय उल्लेख गरि नगरप्रमुख,उपप्रमुख,वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई मोवाईलमा म्यासेज गरेको छ । नगरपालिकाले कार्यपालिका सदस्यहरुलाई मोबाइलमार्फत बैठको सूचना गर्ने गरेको छ ।
कार्यपालिका बैठक सम्बन्धी कानुनी व्यवस्था अनुसार बैठक बस्ने स्थान र समय स्थान खुलाइ पठाउनु पर्नेछ । र,यसरी सूचना गर्दा बैठक बस्ने समयभन्दा तीन दिन अगावै उपलब्ध गराउनु पर्नेछ । बैठकको एजेण्डा सहित सूचना गर्नुपर्नेमा कञ्चनरुप नगरपालिकाले कार्यपालिकालाई झुक्याएर पटक पटक मनोमानी निर्णय गर्दै आइरहेको छन् ।
पछिल्लो बैठकको राजश्व बाँडफाँडको लागि भएपनि वडाअध्यक्षहरुको अनुमति बेगर नै वडाको बजेट सिलिङ्ग पठाएपछि वडाअध्यक्षहरु रुष्ट बनेका छन् । कञ्चनरुप नगरपालिकाको प्रमुख ललन प्रसाद गुप्ताले कार्यपालिकामा एजेण्डा एक वा दुईओटा राखेपनि विविध शषिर्कमा आपूm अनुकुल बैठकको निर्णय गराउँदै आएका छन् । नगरप्रमुख गुप्ताले पछिल्लो पटक नगरसभाबाट स्वास्थ्य सम्बन्धी कार्यविधि विना छलफल पास गराएको थियो । नगरपालिकाकी उपप्रमुख मुनाकुमारी पोखरेलले आपूmले बिरोध गर्दा गर्दै छलफल विनै स्वास्थ्य कार्यविधि पास गरिएको बताइन् ।
कञ्चनरुप नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले सोमबारको कार्यपालिका बैठक योजना छनौटको विषयमा रहेको बताए । एजेण्डा विनाको बेठक राख्न मिल्छ ? भन्ने अवलोकित प्रश्नमा घिमिरेले भने,‘सूचनामा जे लेखिएपनि बैठक योजना छनौटको विषयमा हो ।’ नियमअनुसार त एजेण्डा सहित पठाउनु पर्ने हो तर त्यसो नभएको रहेछ भन्ने सच्याइने प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले बताए ।
प्रतिक्रिया