सुसिन्द्र पासवान
कञ्चनपुर,भदौं १५ गते । नेकपा एमालेका पार्टी अध्यक्ष केपी ओलीले सप्तरीको कञ्चनरुप नगरपालिका २ बरमझियामा आपूmले पनि दुई दिन बसेर पेडा बनाएको जनाएको छ ।
पछिल्लो पटक बुधबार राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सप्तरीको कञ्चनरप नगरपालिका २ बरमझिया स्थित बैजनाथ साहको पेडा पसलमा पुगेर आफनो अतित सम्झेका छन् । सिरहाको पार्टी बैठकबाट फर्किने क्रममा ओली बरमझिया स्थित बैजनाथ साहको पेडा पसलमा केही समय बिताएका थिए ।
बिहिबार समाजिक संजालमा बरमझियाको फोटो राख्दै लेखे,‘रातिको करिब ९÷१० बजेको थियो होला, सिरहाबाट विराटनगर फर्किने क्रममा बाटोमा बरमझिया पेडा पसलमा पुगियो । सप्तरीका बैजनाथ साहले यहाँ पहिलो पटक पेडा बनाएर बेच्न थाल्नु भएको थियो । यहाँ कुनै बेला मैले पनि दुई दिन बसेर पेडा बनाएको थिएँ। अस्ति त्यहाँको पेडा दोकान पुग्दा त्यस बेलाका दिनहरूको सम्झना गरियो ।’
त्यसो त ओलीले राजनीतिक रुपमा पनि बरमझियाको पेडालाई आफनो भाषणमा प्रयोग गर्दै आइरहेका छन् । २०७७ साल पुष १८ गते सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आफनो पक्षीय कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै केपी शर्मा ओलीले पार्टी के वरमझियाको पेडा पसल हो ? असली हामी नक्कली तिमी भन्ने ? प्रश्न गरेका थिए ।
पार्टीको बिबाद उग्र रहेको उक्त समयमा ओलीले असली पार्टी आफ्नो र सूर्य चिन्ह आफ्नो भएको दाबी गरे। ’निर्वाचन आयोगमा निवेदन हालेछन् असली हामी हौँ भनेर । के यो बरमझियाको पेडा पसल हो ? असली भन्ने असली बुढाको पेडा पसल। पेडा पसल हो असली,’ उनले भने, ’पार्टी असली हामी हो सूर्य चिन्ह हामीलाई दिनुहोला । निवेदन हालेका रहेछन्। जसको घर हो उ निवेदन हाल्न जान्छ? हामी निवेदन हाल्न जानुपर्दैन। निर्वाचन आयोगका आयुक्तहरु कति दिन हाँसे होलान !’
पेडा पसलको संस्थापक स्वर्गिया बैजनाथ साहको सालिक नजिक उभिएर सामुहिक रुपमा ओलीले फोटो खिचाएका थिए । बैजनाथ साहका छोरा राजकुमार साह लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया