माओवादी नेता गोविन्द चौधरीको हत्या अभियोगमा चार बर्ष कैद तोकिएका सांसद अनिरुद्ध सिंह यादव पक्राउ

  • भाद्र १८, २0८0
  • 0
...

रामनाथ राम
राजविराज,भदौं १८ गते । माओवादी नेता गोविन्द चौधरीको हत्या अभियोगमा दोषी प्रमाणित भएका मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादवलाई  प्रहरीले पक्राउ गरि अदालतमा बुझाइएको छ ।
मुलतबी रहेको ज्यान मुद्दाका आरोपी रहेका प्रदेशसभा सदस्य सिंहलाई सोमबार दिउँसो राजविराजबाट नियन्त्रणमा लिइएको सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए । माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६४ सालदेखि मुल्तबीमा रहेको मुद्दामा सिंहसमेत आरोपी हुन् । एसपी कार्कीले पक्राउ गरिएका प्रदेशसभा सदस्य सिंहलाई अदालतमा पेस गरिएको बताए ।
विगतमा जनता समाजवादी पार्टीमा रहेका सिंह गत प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४(२) बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए ।
यादव सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद हुन् । माओवादी नेता गोविन्द चौधरीको हत्या गरेको मुद्दामा सांसद यादवलाई जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतले दोषी ठहर गरिसकेको छ ।
सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले २०७१ चैत ११ गते यादवसमेतलाई चार वर्ष कैदको फैसला गरेको थियो ।
उच्च अदालत जनकपुरधाम, राजविराज इजलासका न्यायाधीश नारायणप्रसाद श्रेष्ठ र शेखरचन्द्र अर्यालको संयुक्त इजलासले २०७५ भदौ ९ गते यादवको हकमा जिल्ला अदालतको फैसलालाई नै सदर गरेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठको संयुक्त इजलासले २०७८ पुस १३ गते जिल्ला तथा उच्च अदालतको फैसलालाई नै सदर गरेको थियो । सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले नेपाल प्रेससँग भने, ‘सांसद यादवलाई अदालतमा उपस्थित गराएका छौं ।’
 

प्रतिक्रिया