रामनाथ राम
राजविराज,भदौं १९ गते ।
५ लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता भोला दाहालद्धारा जारी विज्ञप्तिमा अख्तियारले मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ । सोलार बत्ती जडानलगायत योजनाको भुक्तानी बापत सेवाग्राहीसँग २ लाख रुपैयाँ नगद र ३ लाख रुपैयाँको चेकसमेत लिइसकेको अवस्थामा अख्तियारको टोलीले लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर विरेन्द्रकुमार यादवलाई पक्राउ गरेको थियो ।
जिल्ला सप्तरी, विष्णुपुर गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, विष्णुपुरमा कार्यरत लेखापाल टेक नारायण यादवले सोलार बत्ती जडान लगायत योजनाको भुक्तानी बापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज लेखापाल टेक नारायण यादव र एम.आई.एस. अपरेटर विरेन्द्र कुमार यादवलाई सेवाग्राहीबाट नगद दुई लाख रुपैयाँ घुस÷रिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकम र तीन लाख रुपैयाँको चेकसहित बितेको साउन ३१ गते नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा जिल्ला सप्तरी, विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, लेखापाल टेक नारायण यादव र एम.आई.एस. अपरेटर विरेन्द्र कुमार यादवसमेतको आपसी मिलोमतो तथा योजनामा विष्णुपुर गाउँपालिका अन्तर्गत सोलार बत्ती जडान कार्य लगायत आयोजनाहरुको कार्य सम्पन्न पश्चात गाउँपालिकाबाट रकम भुक्तानी गरेवापत सेवाग्राहीसँग पाँच लाख रुपैयाँ) घुस÷रिसवत रकम लिई लिन लगाएको पुष्टि भएको हुँदा निजहरु उमेश प्रसाद यादव, टेक नारायण यादव र विरेन्द्र कुमार यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो पाँच लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको आयोगद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया