किशोर पासवान
कञ्चनपुर,भदौं २२ गते । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डाक्टर सिके राउतले सरूवा बढुवाको लागि १ रूपैयाँ पनि कसैलाई न दिनु पर्ने गरी हामीले थिति बसाउन लागेको बताएका छन् ।समाजिक सञ्जाल मार्फत शुक्रबार डाक्टर राउतले सो कुरा जनाएका हुन् । उनले लेखेका छन,‘कुनै विचौलियाको कुरामा नलागौं – सरूवा बढुवाको लागि १ रूपैयाँ पनि कसैलाई न दिनु पर्ने गरी हामीले थिति बसाउँदैछौं , हामीले त्यो लिखित निर्देशन दिएका छौं। मापदण्ड र प्रक्रिया पूरा भयो भने त्यसै हुन्छ, नभए हुँदैन। सार्वजनिक रूपमा यति स्पष्ट भन्दाभन्दै पनि कसैले कसैलाई पैसा दिन्छ भने त्यसको जिम्मेबार हामी हुँदैनौं, बरू हामीले प्रामाणिक रूपमा थाहा पायौं भने त्यसको सरूवाबढुवा रद्द गर्न हामी निर्देशन दिनेछौं ।’
‘केही विचौलिया र कर्मचारीहरू पैसा खान पाएन भनेर रुष्ट पनि भएका छन् – तिनीहरूले हामीमाथि अनेक आक्रमण पनि गराउँदैछन्, छटपटाहटको कारणले गलत समाचारहरू पनि लेखाउँदैछन्, अनेक षड्यन्त्र गर्दैछन्। तर जनतासँग हामी आग्रह गर्न चाहन्छौं – अलिकति धैर्य गरिदिनोस्, हामी त्यो थिति बसाएरै छाड्छौं। ’ अध्यक्ष डाक्टर राउतले भने,‘अनि कर्मचारीहरूसँग पनि आग्रह छ यदि हामीले १ रुपैयाँ पनि लेनदेन नगरी उचित मूल्याङकन, मापदण्ड र प्रक्रियाको आधारमा सरूवाबढुवाको प्रणाली स्थापित गर्यौं भने यसले समग्रमा तपाईंहरूकै हित गर्छ, त्यसैले हामीलाई यस कार्यको लागि समर्थन गर्नुहोस्।’
प्रतिक्रिया