एमालेको मधेस प्रदेश अधिवेशनको तयारी तीव्र ः कञ्चनरुपमा निर्वाचनद्धारा महिला र यूवा प्रतिनिधि छनौट

  • आश्विन २१, २0८0
  • 0
...


किशोर पासवान
कञ्चनपुर, असोज २१ गते ।
नेकपा एमालेको मधेस प्रदेश अधिवेशनको तयारी तीव्र पारिएको छ । कञ्चनरुप नगरपालिका महिला र युवातर्फको प्रतिनिधि छनौटमा सर्वसहमत नभएपछि चुनावी प्रक्रियाबाट प्रतिनिधि छनौट भएको छ ।
प्रदेश प्रतिनिधि छनौटका लागि शनिवार सम्पन्न चुनावमा कञ्चनरुपबाट २ जना महिला प्रतिनिधिको लागि ३ जना र एक जना यूवा प्रतिनिधिका लागि पनि ३ जना प्रतिस्पर्धामा रहेका थिए । महिलातर्फ ईश्वरी पोखरेल,कल्पना चौधरी र आसरा देवी चौधरी प्रतिनिधिका लागि चुनावी मैदानमा थिए । जसमा कुल खसेको  कुल मत ५७८ मा ३९६ मत खसेको थियो । 
महिला प्रतिनिधितर्फ पहिलोमा असरा देवी चौधरीले सबभन्दा बढी ३३२ मत,दोस्रोमा ईश्वरी पोखरेलले २१९ मत र कल्पना चौधरीले २०५ मत प्राप्त गरेका थिए । 
त्यसैगरि एक जना यूवा प्रतिनिधिका लागि पनि मुकेश कुमार साह,जिवन (मनिष)श्रेष्ठ र संजय कुमार पासवान प्रतिस्पर्धा गरेका थिए । प्राप्त परिणाम अनुसार पहिलो जिवन (मनिष)श्रेष्ठले सबभन्दा बढी १९१ र दोस्रोमा मुकेश कुमार साहले १७९ र तेस्रोमा  संजय कुमार पासवानले ६ मत ल्याएका थिए । यूवामा मुकेशकुमार साहलाई हराउन पार्टीका सबै पंक्ति लाग्दा समेत ११ मतले मात्रै पछि परेका थिए । 
नेपाल कम्युनिस्ट पार्टी एमाले प्रथम मधेस प्रदेश अधिवेशन प्रतिनिधिको लागि  मुस्लिम युवाको तर्फबाट युवा नेता जैनुद्दीन मिया सर्वसहमत छनौट भएका छन् ।
मधेस प्रदेशको नेतृत्व लिन पाँच जना नेता आकाङ्क्क्षी
यही असोज २४ र २५ गते जनकपुरधाममा हुने पहिलो अधिवेशनबाट मधेस प्रदेशको नेतृत्व लिन पाँच जना नेता आकाङ्क्क्षी
देखिएका छन् ।
आठ जिल्ला रहेको यस प्रदेशमा अधिवेशनका लागि प्रतिनिधि छनोट सम्पन्न भइसकेको छ । मधेसका एक सय ३६ पालिका, २३ जनसङ्गठन, आठ प्रदेश विभागबाट एक हजार २७ प्रतिनिधि छनोट गरिएको एमालेका मधेस प्रदेश प्रचार विभाग प्रमुख सोमप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार पालिकाबाट तीन देखि २३ जनासम्म, जनसङ्गठनबाट ७९ र विभागबाट १६ जना छनोट गरिएको छ ।
प्रदेशको नेतृत्वका लागि रेवती पन्त, राजकिशोर यादव, विचारी यादव, पुरुषोत्तम पौडेल र सुमन प्याकुरेलले प्रचारप्रसार गरिरहेका छन् । एमाले सचिव एवं प्रदेश इञ्चार्ज योगेश भट्टराईले मधेसको नेतृत्वका लागि आकाङ्क्षी नेतामध्येबाट सर्वसम्मत नेतृत्व चयन गराउने प्रयास गरिरहनुभएको प्रचार विभाग प्रमुख शर्माले जानकारी दिए ।
उनका अनुसार कोशी प्रदेशका इञ्चार्ज रघुवीर महासेठले पनि मधेसमा सहमतिमै नेतृत्व चयन हुनुपर्ने बताए । दुई नेता सर्वसम्मत गराउने प्रयासमा लागिरहे पनि आकाङ्क्क्षी नेता दुई धारमा बाँडिएकाले निर्वाचन हुने सम्भावना पनि रहेको शर्माको भनाइ थियो । उनका अनुसार अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार’ भन्ने रहेको छ ।
जनकपुरधामको महेन्द्रनारायणनिधि मिथिला सांस्कृतिक केन्द्रको हलमा हुने कार्यक्रमको उद्घाटन एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने प्रदेश अध्यक्ष रामऔतार यादवले जानकारी दिए । 
 

प्रतिक्रिया