रामनाथ राम
राजविराज, असोज २९ गते । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १० विरौल स्थित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामकाज संचालन गर्न माग गर्दै स्थानीय समाजसेवी रामकुमार दासको नेतृत्वमा अनिश्चितकालीन अनशन पाँचौदिनसम्म पनि जारी रहेको छ ।
प्रतिष्ठानको निर्माणस्थल विरौलमा शुक्रबारदेखि स्थानीयले अनिश्चितकालीन अनशन सुरु गरेका हुन् । प्रतिष्ठानको निर्माणको कार्य ठप्प पार्दै अन्य काम समेत रोकिएकोले अविलम्ब कामकाज सुचारु गर्नुपर्नेलगायतका विभिन्न पाँच सूत्रीय माग राखी अनशन सुरु गरेको संघर्ष समितिका संयोजक दासले बताए ।
६२ बिघा जग्गा प्रतिष्ठानले घेरेको जानकारी दिदै उनले ठुलो एरिया जग्गा खाली भएको हुँदा टोलमा डर लाग्दो अवस्था सिर्जना भएको बताए । ठुलो क्षेत्र जग्गा ओगटेर कामकाज संचालन नरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।
शान्तिपूर्ण रुपमा माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिदै आन्दोलनका संयोजक समेत रहेका दासले स्थानीयको संघर्षको कार्यक्रममा पत्रकार, समाजसेवी, बुद्धिजीवी, व्यापारी, राजनैतिक दल, संघसंस्था, शिक्षाप्रेमी, स्वास्थ्यकर्मी, विभिन्न पेशाकर्मी लगायतका आम जनतालाई सहभागी भई सहयोगका लागी आग्रह समेत गरे ।
सप्तरी सहित अन्य जिल्लाहरूको आर्थिक, सामाजिक शैक्षिक लगायतका वृहत हित गर्ने प्रतिष्ठानको कामकाज अविलम्ब चालू गर्नुपर्ने, नेपाल सरकार मन्त्री परिषदको निर्णयबाट गठन आदेश बमोजिम गठित पूर्वाधार विकास निर्माण समितिको म्याद थप गर्नुपर्ने, प्रतिष्ठानको अध्यक्ष लगायत कर्मचारीहरू तुरुन्त नियुक्त गर्नुपर्ने, प्रतिष्ठान निर्माणका लागि तुरुन्त आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने, प्रतिष्ठानको विस्तृत परियोजना प्रतिवेदन बमोजिम निर्माणलगायतका अन्य कामहरू अविलम्ब सुचारु गर्नुपर्ने माग राखी अनिश्चितकालीन अनशन सुरु गरेको स्थानीयले जनाएका छन् ।
प्रतिक्रिया