काठमाडौँ, मंसिर २० गते ।
सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले श्रीमानलाई थुनामा पठाउने आदेश दिएको हो ।
आरती साहको श्रीमानलाई पुर्पक्षको लागि थुनामा पठाउने तथा ससुराबाट १ लाख धरौटी लिई मुद्दाको कार्यवाही अगाडी बढाउने आदेश सर्वोच्च अदालतबाट भएको छ । आरती साहको पक्षमा दर्जनौं वरिष्ठ अधिवक्ता एवं ३ दर्जन जति अधिवक्ता ज्यूहरू सम्मानित सर्वोच्च अदालतमा उपस्थित हुनुहुन्थ्यो । बहस गर्न पाएका, समयाभावका कारण बहस गर्न समेत नपाई समर्थन मात्र जनाएका तथा समर्थन समेत जनाउन नपाई भावनात्मक रूपमा समर्थन जनाएका थिए ।
गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका पति मोतीबाबु साह र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय धनुषाले १ असारमा जिल्ला अदालत धनुषामा ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो । थुनछेक बहसपछि ५ असारमा जिल्ला अदालतले आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
तर उच्च अदालत जनकपुरधामले तत्काल प्राप्त प्रमाणका आधारमा आरतीका पति र ससुरालाई थुनामा राख्न आवश्यक नदेखिएको भन्दै रिहा गर्ने आदेश दिएको थियो ।
उच्च अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदन निवेदनमा सर्वोच्च अदालतले बुधबार सुनुवाइ गरेको थियो । सुनुवाइपछि ससुरा मदनमोहन ब्याहुत सुडीलाई रिहा गर्ने उच्च अदालतको आदेश सदर गरेको छ भने श्रीमान् मोतीबाबुलाई भने थुनामा पठाउने आदेश दिएको छ ।
प्रतिक्रिया