रामनाथ राम
राजविराज,पुस ४ गते ।
सप्तरीमा सन् २०२३ सम्ममा इन्सेकमा मानवअधिकार उल्घनका १६० घटना अभिलेख भएको छ । यो संख्या विगतको बर्षभन्दा बढी हो । सन २०२२ मा ९०, सन २०२१ मा १०० र सन २०२० मा १३७ घटना अभिलेख भएको तथ्याङ्क प्रस्तुत गरिएको छ ।
राजविराजस्थित सप्तरी जिल्ला अदालत बार एकाइको सभाकक्षमा बुधबार नेपाल मानव अधिकार वर्ष पुस्तक पूर्व समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधी मनोहर पोखरेलले सो तथ्याङ्क प्रस्तुत गरेका हुन् ।
सन २०२३ मा १९ जनाको हत्याको अभिलेख छ । जसमा७ महिला र २ बालक छन् । सबै घटना गैरराज्य पक्षबाट भएको हो । गत वर्ष १२ जनाको हत्या घटना अभिलेखित थियो । गैरराज्य पक्षबाट ६५, ६०, ६०, ५५, २६, ३५, २५,२०, २०, १८ वर्षीय १०पुरुषको हत्या घटना भएको छ । ती घटनामा छोरा, ससुराली घर बसेका ज्वाई, साथीसहित किटानी आरोपित १७ जना छन् । एक घटनाको मृतक र पहिचान खुलेको छैन् । आरोपितमा धरौटी २, थुनामा ७, पक्राउ पुर्जी ५, संरक्षक १, आंशिक सजाय पाउने १, फरार १ जना छन् । ती घटनामध्ये तिलाठी कोइलाडी–७ मन्सापुर बुढी इनारमा ०८० साउन १२ गते हत्या गरिएको अवस्थामा शव फेला परेको हनुमाननगर कंकालिनी –१० इनर्वाका १८ वर्षीय तिर्थनारायण मण्डलको घटनाको अनुसन्धान हुन सकेको छैन् । हनुमाननगर कंकालिनी –४ मधवापुरमा २०८० जेठ ८ गते २० वर्षीय अपरिचित एक युवकको घाँटी काटेर हत्या भएको घटनाको मृतक र आरोपितको पहिचान हुन सकेको छैन् । अन्य घटनाहरु हनुमाननगर कंकालिनी –७, बोदे बर्साइन –३ र ६, महादेवा–६, शम्भुनाथ–२, कञ्चनरुप–७ र १० तथा बलान बिहुल–२ मा भएको हो ।
यसैगरी यो अवधिमा ७ महिलाको समेत हत्या भएको छ । चारओटा घटनामा आरोपित पति, एउटामा लिभिंग टुगेदरमा बसेका प्रेमी र २ ओटामा घटनामा छिमेकी गरी १४ जना आरोपित छन् । बलात्कार गरेर हत्या गरेको आरोप लागेका प्रेमी राजविराज–६का ४२ वर्षीय शंकर शर्मालाई भदौ १० गते जन्मकैदको सजाय भएको छ । उनीमाथि बलान विहुल–५ रामनगर घर भई राजविराज–४ बजरंग चौकमा डेरा बसेकी ४१ वर्षीया महिलाको २०८० वैशाख २४ गते हत्या गरेको आरोप छ । अन्य ३ घटनाका आरोपित ३ जना पति पुर्पक्षका लागि थुनामा छन् । ८० र ७० वर्षीया बृद्धाहरुको हत्या आरोप लागेका छिमेकी २ जना पुर्पक्षका लागि धरौटीमा छुटेका छन् भने २ जना फरार छन् । अन्य मृतक महिलाको उमेर २० देखि ३८ वर्ष रहेको छ । रुपनी–२ पिपराहीकी २० वर्षीया सुनिता कुमारी रायको २०८० असार १३ गते उनका पति, सासु, ससुरा र छिमेकी ३ जना मिलेर हत्या गरेको आरोप लागेको छ । जिप्रकामा असार १९ गते झुण्डी ज्यानसम्बन्धी मृत्युमा निवेदन दर्ता भएको छ । सुनिताको साढे ४ महिना अघि मात्र ०७९ माघ २३ गते विवाह भएको थियो । महिला हत्याको घटना राजविराज –४, सुरुङ्गा –७, शम्भुनाथ –५, महादेवा –२ छिन्नमस्ता –२ तथा रुपनी गाउँपालिकाको वडा नम्बर–२ र ३ मा भएको हो ।
यसैगरी १७ वर्षीय बालकको खडक–११ बनौलीस्थित रामप्रकाश यादवले सञ्चालन गर्दै आएको कृषि फर्मको पोखरीमा तथा १५ वर्षीया बालिकाको अपहरण पछि भारतको दिल्ली लाजपत नगरमा लगेर हत्या गरेको २घटना पनि अभिलेखित गरिएको छ । खडक–११ बनौलीका १७ वर्षीय मो. अजिमुद्दिन २०८० भदौ २१ गतेदेखि बेपत्ता भएको उजुरी दिएपनि प्रहरीले खोजतलाश नगरेको गुनासो गर्न पत्रकार सम्मेलन राखेकै दिन असोज १३ गते अजिमुद्दिनको शव प्लाष्टिकको बोरामा हाली सिमेन्टको पोलमा बाँधी त्यसमाथी ट्याक्टरको फलामको रिमले थिचेर पोखरीमा लुकाएको अवस्थामा फेला प¥यो । उक्त घटनामा ४ जना आरोपित न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलाशबाट कात्तिक १४ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । चार जना फरार छन भने १४ वर्षीया बालिका संरक्षकको जिम्मामा छिन् ।
यो वर्ष आत्महत्या दुरुत्साहनका ५ घटनामा १८ देखि ३१ वर्षीया महिला पीडित भइन् । राजविराज–३, सुरुङ्गा–५ र १० तथा अग्नीसाइर कृष्णसवरण–४ र ५ मा उक्त घटना भयो । गत वर्ष आत्महत्या दुरुत्साहनका २ घटनामा १८ वर्षीया र २० वर्षीय युवा पीडित थिए । सन २०२१ मा दुरुत्साहनका ३ घटनामा २०, २४ र २८ वर्षीया ३ महिला पीडित थिइन् । अन्य वर्षको झै यो वर्ष पनि आरोपितहरूमा पति, ससुरा र प्रेमी गरी ७ जना रहेका छन् । जसमा आरोप लागेका २ जना पति पुर्पक्षका लागि थुनामा छन् । प्रेमी, ससुरा र पतिका प्रेमिका फरार छिन् । आरोपित १ जना पतिविरुद्धको अभियोग दावी नपुग्ने फैसला भएको छ भने ट्यूशन पढाउने अग्निसाइर कृष्णसवरन–४ टेङ्गग्रीका ३२ वर्षीय राधेश्याम मण्डललाई ०८० कात्तिक १६ गते २२ दिनको कैद सजाय भएको छ ।
इन्सेक मानार्थ सदस्य बैद्यनाथ झाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनाम रहेका थिए । कार्यक्रमा सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापा,नेपाली सेनाका गणपति रमेश पाण्डे,स्रेस्तेदार कृष्णप्रसाद अधिकारी,उपअनुसन्धान निर्देशक सुरेन्द्र कोइराला,लोसपा अध्यक्ष सुनिल झा,जनमत पार्टीका इन्चार्ज रामगमन साह,जसपा सप्तरीका उपसचिव शम्भु यादव,जिल्ला न्यायाधिवक्ता गोकुल बहादुर निरौला,डिएसपी ढुण्डीराज नेउपाने,सप्तरी जिल्ला बार एकाई अध्यक्ष रामप्रसाद चौधरी,नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अरुण प्रधान,नागरिक समाज अध्यक्ष थानसिंह भन्साली,गैसस महासंघ सप्तरी अध्यक्ष दिपक कुमार झा,कारागार कार्यालय प्रमुख सदानन्द दास,लायन्स क्लब डिस्ट्रीक गर्भनर शंकर शारदा,समावेशी अपांग संघका अध्यक्ष सतिशचन्द्र झा,बौद्धिक अपांग अभिभावक महासंघ सप्तरी अध्यक्ष जगदीश अर्याल,एकल महिला समूहकी प्रदेश अध्यक्ष अनीता देवकोटा,राजविराज नगरपालिका कार्यपालिका सदस्य ललिता कर्ण,सामुदायिक सेवा केन्द्र अध्यक्ष धिरेन्द्रकुमार दास,सामुदायिक सेवा केन्द्र प्रमुख सल्लाहकार हितनारायण दास ,बाल क्लब सप्तरी अध्यक्ष सलमा खातुन र सोनिया मण्डल,सबल नेपालका निरबहादुर आले, सहयोगी समाज रामप्रकाश चौधरी,अधिवक्ता साधना कर्ण, रञ्जिता रिजाल,इडभोकेसी फोरमका कुमार प्रसाद थपलिया,पत्रकार डम्बर राई, नविन यादव, बृजमान तामांग,बालअधिकारकर्मी बिशेन्द्र पासवान,इन्सेक सहजकर्ता अजय परियारको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चाललन नेपाल पत्रकार महासंघ सप्तरी सदस्य दिनानाथ यादवले गरेका थिए ।
प्रतिक्रिया