कञ्चनरुपको बेहाल : कार्यवाहक नदिइ एक हप्तादेखी नगरप्रमुख गायब,बिपन्न नागरिक औषधी उपचारका लागि सिफारिस लिनबाट बञ्चित

  • पुष १३, २0८0
  • 0
...

किशोर पासवान
कञ्चनपुर,पुस १३ गते ।
कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ता विना कुनै जानकारी एक हप्तादेखी कार्यालय नआएपछि बिपन्न नागरिकलाई औषधी उपचारका लागि सिफारिस लिन समेत समस्या परेको छ ।
एक हप्ताभन्दाबढी कार्यालय बाहिर जानु परे उपप्रमुखलाई कार्यवाहकको जिम्मेबारी दिएर जानुपर्ने कानुनी व्यवस्था छ तर नगर प्रमुख ललन प्रसाद गुप्ता एक हप्तादेखी भारत घुमघाममा जादा समेत निम्तिको जिम्मेबारी उपप्रमुखलाई नदिएपछि अतिआश्यक सिफारिस लिनबाट नागरिक बञ्चित भएको छ ।
बिपन्न नागरिकलाई औषधी उपचारका लागि सिफारिस गर्न गठित आर्थिक सहायता सिफारिस समितिको संयोजक नगरप्रमुख ललन प्रसाद गुप्ता हो  । ३ सदस्य समितिमा प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुख सदस्य रहेका छन् । तर नगरप्रमुख नभएकाले बिरामीका आफन्तलाई सिफारिस लिन समस्या परेको छ ।
कञ्चनरुप नगरपालिका ८ तिलक बहादुर खरेलको शहिद गंगाला राष्टिय हृदय केन्द्र,बाँसवारी काठमाडौंमा सोमबार मुटुको शल्यक्रिया छ । उक्त शल्यक्रियाका लागि वडावाट तीनदिन अघि नै सिफारिस लिइ बिरामीका नातेदार पालिकाको चक्कर लगाउँदैछन् तर नगरप्रमुख ललन प्रसाद गुप्ता नभएकोले सिफारिस रोकिएको छ । 
बिरामीका आफन्त प्रकाश सिजापतिले भने,‘ नगरप्रमुख गुप्ताले भारत घुम्न गएको छ भन्ने कुरा सुने तर पालिकामा कसैलाई औपचारिक पनि जानकारी छैन । उपप्रमुख,कार्यालयका हाकिम कसैलाई जानकारी छैन ।’   उनले भने,‘ मुटु रोगका उपचारका लागि पालिकाबाट सिफारिस लगे एक लाख बराबरको सहयोग पाँउछौं तर हाम्रो नगरपालिकाको बेहाल छ । नगरप्रमुखलाई पनि काम पर्न सक्छ । निजी जीवन पनि छ तर नियमअनुसार निम्ति दिएर जानु पर्ने हो । तर यहाँ त सबै मनपर्दी भइरहेको छ । कसैलाई कसैप्रति जवाफदेहीता छैन ।’
स्थानीय सरकार संचालन ऐन २०७४मा गाउँपालिकाका अध्यक्ष तथा नगरपालिकाका प्रमुखका काम, कर्तव्य र अधिकारहरुमा नगरप्रमुख वा अध्यक्ष सात दिन भन्दा बढी कार्यालय बाहिर रहने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यबाहक दिने र उनीहरु पनि अनुपस्थित रहेमा कुनै सदस्यलाई तोक्ने कानुनी व्यवस्था छ ।
कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुनाकुमारी पोखरेलले यस अघि पनि नगरप्रमुख हप्तादिन बाहिर जादा निम्तिको जिम्मेबारी नदिएर गएको बताइन् ।  उनले भनिन्,‘ सर्वसाधरणलाई दुःखको बेला हो हामीले सहयोग गर्ने तर उक्त सिफारिसमा मेरो कलम चल्दैन,मलाई निम्ति दिएको पनि छैन ।’
कञ्चनरुप नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ८का वडाअध्यक्ष कृष्णा प्रसाद साहले पनि नगरप्रमुख कहाँ गएको भन्ने कुरा औपचारिक रुपमा  थाह नभएको बताए । उनले भने,‘मैले पनि उहाँ भारतको पुणे गएको सुनेको छु,सायद आज रातीसम्म आउनुहुन्छ होला ।’

प्रतिक्रिया