राजविराज, पुस २१ गते । टिपरमा लोड गरिएको बालुवाभित्र राखेर तस्करी गर्न लागेको एक हजार किलो भन्दा बढी अवैध गाँजा सप्तरीबाट प्रहरीले बरामद गरेको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको खडक नगरपालिका–७ कल्याणपुर चौकस्थित शुक्रबार राति उक्त गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले को १ ख ५८३१ नम्वरको टिपरलाई चेकजाँच गर्दा १० क्विन्टलबढी गाँजा बरामद भएको शनिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।
‘२८ वटा बोरामा प्याक गरिएको अवस्थामा फेला परेको उक्त गाँजा १ हजार ६ किलो परिमाणको रहेको छ’, पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बज्राचार्यले भने, ‘उक्त गाँजा बलान नदी हुँदै भारततर्फ लग्ने योजना रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो ।’
उनका अनुसार उक्त गाँजा अन्तर्राष्ट्रिय बजारमा ३० देखि ३५ हजार रुपैयाँ प्रति किलो विक्री हुने गरेको छ । गाँजासँगै सवारी धनि समेत रहेका टिपर चालक धनकुट्टाको सहिदभुमी गाउँपालिका–४ का ३२ वर्षीय विशेष राईलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बज्राचार्यले बताए । ती विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । पछिल्लो पटक प्रहरीले बरामद गरेको सबैभन्दा बढी परिणामको गाँजा हो ।
प्रतिक्रिया