कञ्चनपुर,माघ ९ गते । सीके राउत नेतृत्वको जनमत पार्टी मधेश सरकारबाट बाहिरिएको छ । सरकारबाट बाहिरिदै दमन र भ्रष्टाचारको विरूद्ध आन्दोलन थाल्ने उद्घोष गरेका छन् ।
जनमत पार्टीका प्रदेश सांसद संजय यादवले मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मधेश सरकारबाट बाहिरिएको पत्र बुझाएका छन् ।
मधेश प्रदेश सरकारमा जनमत पार्टीका दुईमन्त्री छन् । शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह छन् । सरकारमा सहभागी भएदेखि नै जसपा र जनमत पार्टीबीच मतभेद रहेको थियो ।मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा दिएका हुन् ।
मंगलबार जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको जनमत पार्टीका सचिव वीपी साहले जानकारी दिए ।
मधेशमा जनता समाजवादी पार्टीका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् । जनमत पार्टीका प्रवक्ता शरद सिंहले सरकार गठन भएको एक वर्षपछि सरकारको नेतृत्व जनमतलाई दिने सहमति जनता समाजवादी पार्टीले उल्लंघन गरेकाले सरकार छाडेको बताए ।
जसपा नेत्तृत्वको मधेश सरकारले मधेशी जनतामाथि गरेको क्रूर दमन र अत्याचार, सीमान्तकृत र दलितमाथि गरेको विभेद, दर्जनौं काण्डमा गरेको चरम भ्रष्टाचार र मधेशमा लादेको जंगलराज र गुण्डाराजको विरोधमा जनमत पार्टीद्वारा समर्थन फिर्ता भएको जनमतका अध्यक्ष सिके राउतले समाजिक संजालमा लेखेका छन्, ‘मन्त्रीद्वयको राजीनामा; दमन र भ्रष्टाचारको विरूद्ध आन्दोलन थाल्ने ।’
प्रतिक्रिया