कञ्चनपुर,फागुन ९ गते ।
कञ्चनरुप नगरपालिकाले पालिकाभरीका बालविकासमा अध्ययनरत बालबालिकाहरुका लागि न्यानो कपडा खरिद गरेपनि जाडो सकिदा समेत वितरण गरेको छैन ।
पालिकाले बालबालिकाका लागि न्यानो कपडाका करिब ५ लाख र सिरक वितरणका लागि १० लाख बजेट बजेट बिनयोजन गरेका थिए । तर जाडो सकिन लाग्दा समेत नत न्यानो कपडा वितरण गरिएको छ नत सिरक नै ।
चिसोका मौसमबाट बञ्चनका लागि पालिका भित्रका चौकहरु,मठ मन्दिर,मस्जिद,मेला र शिविरहरुमा दाउरा उपलब्ध गराउने र न्यानो कपडा सामुदायिक विद्यालयका वालविकास केन्द्रहरुलाई उपलब्ध गराउने निर्णय गरेको थियो । जाडो मौसम वितिसक्दा समेत न्यानो कपडा र दाउरा वितरण गरिएको छैन ।
न्यानो कपडा र दाउरा वितरण नगरिएपनि उक्त छुट्याएको बजेट निकासाका लागि फाइल अघि बढाइएको छ । स्थानीय बजारबाट बालबालिकाहरुका लागि न्यानो कपडा खरिद गरिएको छ । तर जाडो सकिनलाग्दा समेत वितरण गरिएको छैन ।
कञ्चनरुप नगरपालिका वडा नम्बर ९का वडाअध्यक्ष रामसुन्दर यादबले भने,‘ गत आर्थिक बर्षमा समेत वडा नम्बर ९ सहित धेरै वडाअध्यक्षले सिरक अपुग भएको भन्दै थपेर दिन भन्दा नदिएकाले हामी वितरण गरेनौं,यस पटक कार्यापालिकाको बैठकमा न्यानो कपडा र सिरक वितरण गर्न आग्रह गरेका थियौं तर वितरण गर्न दिएको छैन ।’
कञ्चनरुप नगरपालिका ८का वडाअध्यक्ष कृष्णाप्रसाद साहले समेत न्यानो कपडा र सिरक नगरपालिकाको गोदाममा रहेको पुष्टि गरेका छन् । उनले भने,‘ बालविकासका लागि न्यानो कपडा ल्याइएको छ,समय नमिलेकाले वितरण गरिएको छैन । ’
कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुनाकुमारी पोखरेलले भनिन,‘समान खरिद गरिसकिएकोले बिल अनुसारको भुक्तानी त दिनैपर्छ । समान खरिदकर्ताले समान दिइसकेपछि उसको दायित्व सकियो । वितरण गर्नु पालिकाको मुख्य जिम्मेबारी हो ।तर पालिकाको जिम्मेबार व्यक्तिहरुले समयमा खरिद प्रक्रिया अगाडी नबढाई दिदा वितरण गर्न ढिलो भएको छ ।’ उपप्रमुख पोखरेलका अनुसार १० लाख रुपैया सिरकका लागि बिनयोजन गरिएपनि त्यो बजेट अब अन्यत्रको योजनामा लगाउने बताइन् ।
नगरप्रमुख ललन प्रसाद गुप्ता र प्रमुख प्रशासकीय अधिकृतको चासो र चिन्ता जनताप्रति नभएकोले वितरण हुन नसकेको कञ्चनरुपका कार्यपालिका सदस्य शोभा पासवानले बताए । उनले भने,‘ कार्यपालिकाको बैठकबाट हामीले गहुँको बिऊ खरिदका लागि निर्णय गरेर दिएका थियौं,त्यो पनि कार्यान्वयन भएन,अहिले जाडोका लागि खरिद गरिएको न्यानो कपडा र सिरक पनि वितरण गरेको छैन ।’
‘अघिल्लो कार्यपालिकाको बैठकमा मैले धानको बिऊ खरिद गर्न अहिले देखी थालौं भन्दा नगरप्रमुख र प्रमुख प्रशसाकीय अधिकृतले जनताको फाइदा हुने प्रस्तावमा छलफलै गर्न चाहदैनन् । ’ कार्यपालिका सदस्य पासवानले भने,‘ जब समय नजिक आउँछ देखाउनका लागि बिऊ खरिदको निर्णय गर्छ तर बिऊ खरिद नगरी नगरप्रमुखले जनतालाई हाकिमले कामै गरेनन् भनेर ढाट्छन् ।’
कञ्चनरुप नगरपालिका वडा नम्बर १का वडा सदस्य दुर्गानन्द यादबका अनुसार केही समयअघि नगरप्रमुख ललन प्रसाद गुप्ताले वडासदस्यहरुसँगको बैठकमा आपूmले न्यानो कपडा र सिरक वितरण गर्न चाहेपनि कार्यपालिकाले निर्णय नगरेको जानकारी गराएको बताए । वडासदस्य यादबले भने,‘तर न्यानो कपडा,दाउरा र सिरका लागि बजेट बिनयोजन भएको र निर्णय समेत भइसक्दा पनि समयमा वितरण नगर्नु जनताप्रतिको बेइमानी हो ।’
प्रतिक्रिया