कञ्चनरुपको बेतिथि: जाडो सकिएपछि न्यानो कपडा वितरण सुरु

  • फाल्गुन ११, २0८0
  • 0
...


कञ्चनपुर,फागुन ११ गते ।
जाडो सकिएपछि शुक्रबारदेखी कञ्चनरुप नगरपालिकाले न्यानो कपडा वितरण सुरु गरेको छ ।
पालिकाभरीका बालविकासमा अध्ययनरत बालबालिकाहरुका लागि एक हजार ३७ थान न्यानो कपडा वितरणका लागि बिहीबार पालिकाकाले विद्यालयहरुलाई कपडा जिम्मा लगाएपछि शुक्रबारदेखी विद्यालयहरुले वितरण सुररु गरेका हुन् ।
अवलोकित दैनिकले बिहीबार जाडो सकिएपनि न्यानो कपडा वितरण नगरी भुक्तानी दिने तयारी गरेको बिषयमा समाचार प्रकाशित गरेपछि पालिकाले जाडो सकिएपनि विद्यालयहरुलाई न्यानो कपडा वितरण गरेका हुन् ।
कञ्चनरुप नगरपालिका ५ पथरी स्थित आधारभूत विद्यालयका प्रअ गजेन्द्र प्रसाद देवले बालविकासका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । पालिकाभरी ३३ ओटा सामुदायिक विद्यालयका बालविकासका विद्यार्थीहरुलाई न्यानो कपडा पाएका प्रअहरुले वितरण गरेका छन् । 
कञ्चनरुपका एक विद्यालयका  प्रअले भने,‘ कञ्चनरुप नगरपालिकाले अजब गजबको काम गरेर प्रसिद्धि कमाउन ध्याउनमा छ । शिक्षकको तलब समयमा खुवाउदैनन्, न्यानो कपडा समयमा वितरण गर्दैनन्,समयमा बिऊ बिजन वितरण गर्दैनन्, भएजतिको खराब काम यही पालिकामा भइरहेको छ ।’
कञ्चनरुपकी उपप्रमुख मुनाकुमारी पोखरेलले एक हजार ३७ जना बालबिकासका विद्यार्थीहरुलाई कपडा वितरण गर्न विद्यालयलाई जिम्मा लगाएको जानकारी दिएकीछिन् । उनले भनिन्,‘ भोलीसम्म सबै विद्यालयमा न्यानो कपडा पुर्याउछौं ।’
पालिकाले बालबालिकाका लागि न्यानो कपडाका करिब ५ लाख र सिरक वितरणका लागि १० लाख बजेट  बजेट बिनयोजन गरेका थिए । चिसोका मौसमबाट बञ्चनका लागि पालिका भित्रका चौकहरु,मठ मन्दिर,मस्जिद,मेला र शिविरहरुमा दाउरा उपलब्ध गराउने र न्यानो कपडा सामुदायिक विद्यालयका वालविकास केन्द्रहरुलाई उपलब्ध गराउने निर्णय गरेको थियो । जाडो मौसम वितिसक्दा समेत न्यानो कपडा र दाउरा वितरण गरिएको छैन । 
न्यानो कपडा र दाउरा वितरण नगरिएपनि उक्त छुट्याएको बजेट निकासाका लागि फाइल अघि बढाइएको छ । स्थानीय बजारबाट बालबालिकाहरुका लागि न्यानो कपडा खरिद गरिएको छ । तर जाडो सकिनलाग्दा  समेत वितरण गरिएको छैन ।
 

प्रतिक्रिया