अमित दास
काठमाडौं, वैशाख १२ गते / लाखौँ नेपालीलाई रोजगारी दिइराखेको, र नेपालको अर्थतन्त्रमा 'रेमिटेन्स' मार्फत् महत्वपूर्ण योगदान पुर्यापइराखेको कतारले अब नेपाललाई शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा समेत सहयोग गर्ने भएको छ ।
यसका अतिरिक्त, संस्कृति, कला, आम सञ्चार, युवा तथा खेलकूद, कूटनीतिक प्रशिक्षण र शिक्षा, संयुक्त व्यापार परिषद् (जेबिसी) लगायतमा पनि नेपाल र कतारबीच सहयोग आदान-प्रदान हुने भएको छ । यस सम्बन्धमा दुई मित्र राष्ट्रबीच आज दुईवटा सम्झौता र छ वटा समझदारीपत्रमा हस्ताक्षर भयो ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा नेपाल आउनु भएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको उपस्थितिमा बुधबार ती द्विपक्षीय सम्झौता र समझदारीमा हस्ताक्षर गरिएका हुन् ।
कतारका अमिर थानी र प्रधानमन्त्री दाहालबीच आज भएको द्विपक्षीय भेटवार्तापछि कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदान-प्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदान-प्रदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भयो ।
युवा तथा खेलकूद, दुवै देशका महान्यायाधिवक्ता कार्यालय स्तरीय, कूटनीति, शिक्षा र तालिम सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारी स्तरमा भएका समझदारीपत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले हस्ताक्षर गर्नुभयो ।
निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्सकाबीच पनि लगानी आदान-प्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका तर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गर्नुभयो ।
नेपाल र कतारबीच आज हस्ताक्षर गरिएका समझदारी र सम्झौता यस्ता छन् :
१. नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतार राज्यको संस्कृति मन्त्रालयबीच संस्कृति र कलाको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र ।
२. राष्ट्रिय समाचार समिति, नेपाल (रासस) र कतार समाचार एजेन्सी (क्यूएनए) बीच समाचार आदानप्रदान तथा सहयोगसम्बन्धी सम्झौता ।
३. नेपाल सरकार र कतार राज्यको सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र (एमओयू) ।
४. नेपाल सरकार र कतार राज्यको सरकारबीच युवा तथा खेलकूदको क्षेत्रमा सहयोग सम्बन्धी समझदारी पत्र ।
५. नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतार राज्यको सार्वजनिक अभियोजनबीच सहयोगका लागि समझदारी पत्र ।
६. नेपाल सरकारको परराष्ट्र मामिला अध्ययन संस्थान (आईएफए) र कतार राज्यको परराष्ट्र मन्त्रालयको कूटनीतिक संस्थानबीच कूटनीतिक प्रशिक्षण र शिक्षाको क्षेत्रमा सहयोग सम्बन्धी समझदारी पत्र ।
७. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासङ्घबीच संयुक्त व्यापार परिषद् (जेबिसी) स्थापना गर्ने सम्बन्धी सम्झौता ।
८. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासङ्घबीच भएको समझदारी पत्रको नवीकरण ।
(प्रशिक्षार्थी पत्रकार अमित दास रूपनगर क्याम्पसमा बिबिएस दोश्रो वर्षका छात्र हुन्।)
प्रतिक्रिया