काठमाण्डौं,बैशाख १९ गते ।
वैदेशिक रोजगारीबाट फर्किएका सप्तरीको राजविराज नगरपालिका–१३ बस्ने सितेन्द्र यादबलाई अपहरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अपहरण तथा शरीर बन्धक गर्न संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं सिनामंगल बस्ने सर्लाही मलंगवा नगरपालिका–३ घर भएका २५ वर्षीय अजिम अली र सोही नगरपालिका–७ बस्ने २५ वर्षीय एमडि सनी अलाही रहेका छन् ।
अपहरणमा परेका यादब बितेको बैशाख १७ गते कतारबाट फर्किदा कतारमा बस्ने अजिमका काका मनसुर अलीले पठाएको २५ ग्राम सुन अजिमले नपाई अर्कै व्यक्तिले सुन लगेको भन्दै अजिमले आफ्नो डेरामा जबरजस्ती लगि कुटपिट गर्नुका साथै पीडितको श्रीमतीलाई ४ लाख ८० हजार दिए पश्चात मात्र छाड्ने भनि विभिन्न किसिमका डर÷त्रास तथा धाक धम्की दिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन,काठमाण्डौंका प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जनाएको छ ।
प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीका अनुसार निज अजिम अलीले पिडीतको पास्पोर्ट तथा नगद १७ हजार ७ सय ४० रुपैया समेत जबजस्ती लिएको पाइएको जनाएको छ ।
सप्तरी राजविराज नगरपालिका–१३ बस्ने पुरूष अपहरणमा परेको र मुक्त हुन ४ लाख ८० हजार दिनुपर्ने भन्दै सोमबार साँझ प्राप्त सूचनाको आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सिनामंगलबाट पीडितको उद्धार गर्नुका साथै दुवै जना अभियुक्तलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया