सप्तकोसी नगरपालिका का दलितहरु द्वारा मन्दिर प्रवेश 

...

कञ्चनपुर, जेष्ठ ६ गते । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर २का दलितहरूले आईतवार स्थानीय डिहवार मन्दिर प्रवेश गरेका छन् ।
वडा नं.२ स्थित रहेको उक्त डिहवार मन्दिरमा थारु समुदायको प्रथम लाल चौधरी पुजारी छन। स्थानीय महिलाहरूले प्रत्येक वर्ष गाउँघरमा रहेकोे मठ मन्दिरमा पुजा गरे पछी अन्तिममा जिल्लाकै बिष्णुपुर गाउँपालिकाको मझौमा  अवस्थित भगवती माताको पुजा गर्ने चलन र मान्यता  रहेको छ । 
सोही चलन अनुसार स्थानीय दलित महिलाहरु सहित वडा सदस्य रामसती रामले मन्दिरमा पुजा गर्न जादा मन्दिरका पुजारीको पत्नीले अछुत र सानो जातको व्यक्ति भन्दै रोकेका थिए । त्यसपछि आईतवार गाउँका सयौं दलित महिलाहरु कार्यपालिका सदस्य राजेन्द्र बिश्वकर्माको नेतृत्वमा मन्दिर प्रवेश गरेको हो ।
मन्दिर प्रवेश गर्न गएका दलितहरूलाई मन्दिरका पुजारीले रोक्न खोजेपछि संगै गएका वडा नं. का वडा अध्यक्ष जाहिर हुसेन र प्रहरी चौकी फत्तेपुरका प्रहरीले दलितहरुलाई मन्दिर प्रवेशमा सहयोग गरेका थिए । प्रहरी चौकी फत्तेपुरका कार्यालय प्रमुख स ई अरुण कुमार यादवले २१औं शताब्दीमा पनि यस्तो किसिमको संकीर्ण  सोच राख्नु दु:खद भएको बताउनुभयो । मन्दिर प्रवेश कार्यक्रममा रामसती राम, डम्बर राम र तेजनारायण राम लगायतको सयौं दलित र अगुवाहरुको सहभागिता  रहेको थियो ।

प्रतिक्रिया