कञ्चनपुर, जेष्ठ ७ गते ।सप्तरीको कञ्चनरुप नगरपालिकामा कुल ८ सय १२ जना विद्यार्थीहरु अध्ययनरत रहेका मदर्शाहरुलाई धार्मिक बिधालयको नाममा नगरपालिकाले उपेक्षा गर्दै आएका छन् ।
कक्षा १ देखि ६ सम्म अनुमति पाई कक्षा ६ सम्म नै अध्यापन भइरहेको नगरपालिकाको वडा नं.१ मा रहेका काशीमुल उल्लुम मदर्शामा शिक्षा शाखाको तथ्याङ्क अनुसार कुल २ सय ८१ जना विद्यार्थीहरु अध्ययनरत छन् ।
उक्त मदर्शामा १४ जना शिक्षक र कर्मचारी रहेकोे छन भने नगरपालिकाले वार्षिक ५ लाख मात्र अनुदान दिईरहेका छन् ।
त्यसैगरी वडा नं.२ मा रहेकोे मदर्शा ईस्लामियामा ४ शिक्षकहरु र कुल २ सय ८ जना बिद्यार्थीहरु अध्ययन गरिरहेका छन् । कक्षा ४ सम्म अनुमति पाएको मदर्शा ईस्लामियालाई नगरपालिकाले वार्षिक २लाख ४० हजार अनुदानको रुपमा उपलब्ध गराउदै आएको छ । त्यस्तै वडा नं.७ मा रहेकोे जामिया ईस्लामिया मदर्शामा कुल १७९ जना विद्यार्थीहरु र ७ शिक्षकहरु कर्मचारी रहेका छन् । मदर्शाले ६ सम्म अनुमति पाएकोमा कक्षा ५ सम्म मात्र अध्यापन भइरहेको र नगरपालिकाबाट वार्षिक रूपमा २ लाख ४० हजार नै अनुदान पाईरहेका छन ।
वडा नं.१२ स्थित रहेको मदर्शा रुपनगर चर्खियामा २ जना शिक्षक र ४५ जना , वडा नं.११ गोरपारको मदर्शामा ५३ जना विद्यार्थी छन् भने मदर्शा जमुवामा ८१ जना विद्यार्थी अध्ययनरत छन् ।
नगरपालिकामा कुल ६ वटा मदर्शामा अध्ययनरत ८ सय १२ जना सम्पुर्ण विद्यार्थीहरु मुस्लिम समुदायका हुन ।
नगरपालिकाले एकदमै न्यून अनुदान दिने गरेकोले स्थानीय व्यक्तिहरु र विद्यार्थीहरु बाट नै चन्दा सहयोग संकलन गरि जसोतसो मदर्शा संचालन गरिरहेको काशीमुल मदर्शा बैरबाका विधालय व्यवस्थापन समितिका अध्यक्ष मो. करिम शेखले बताए । उनका अनुसार मदर्शामा कार्यरत शिक्षक,कर्मचारीहरुलाई कुनै महिना १० हजार त कुनै महिना १५/१६ हजार मात्र पारिश्रमिक दिने गरेका छन् ।
सबै मदर्शाहरुको अवस्था भने उही छ । मदर्शाहरु चन्दा सहयोगकै भरमा संचालन भइरहेको मदर्शा घोघनपुरका प्रधानाध्यापक मसिहा खातुनले बताइन् । मुस्लिमहरु पनि यस देशको नागरिक र कञ्चनरुप कै जनता भएकोले नगरपालिकाले मदर्शाहरुलाई पनि व्यवस्थित गर्नु पर्ने र अन्य बिधालयहरु सरह सुबिधा दिनु पर्ने मदर्शाका एक शिक्षकले बताए ।
प्रतिक्रिया