सप्तरीको कञ्चनरुपको एक लजमा धनकुटाका युवक मृत अवस्थामा भेटिए

...

कञ्चनपुर, जेष्ठ २२ गते । सप्तरीको कंचनरुप नगरपालिकाको  एक होटल एण्ड लजमा धनकुटाको एक युवक मंगलबार मृत अवस्थामा भेटिएको छ ।
 कञ्चनरुपको कंचनपुर बेरियर स्थित रहेको एन्जिला होटल एन्ड लजमा एक दिन अगाडी मात्र बास बस्न आएका धनकुटा घर भएका २८ बर्षिय सुजन  कार्की मृत अवस्थामा भेटिएको हो ।
लजका संचलक निशा खत्रीका अनुसार सोमबार दिउँसो ३ बजे बास बस्न आएका कार्की लजको माथिल्लो तल्लाको कोठा नं. ९ मा  बसेको र राति खाना खान समेत तल झरेका थिएन भने मंगलबार बिहान ११ बजे सम्म पनि कार्कीको कुनै चहलपहल नदेख्दा र बसेको कोठा नखुल्दा होटलका संचालकले ढोका ढकढकाउदा समेत कोठा ढोका नखुलेपछी शंका लागेर ईलाका प्रहरी कार्यालय कंचनपुरलाई खबर गरेका थिए ।
प्रहरीले खबर पाए लगत्तै लजमा आई ढोका खोलेर हेर्दा कोठामा रहेकोे पंखामा डोरीले पासो लगाई झुन्डिएको अवस्थामा शव भेटिएको ईलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी महेन्द्र नेपालले बताउनु भयो  ।
उक्त होटलमा सोमबार ८ जना ब्यक्ति  मात्र बास बसिरहेको  होटेलका संचालक खत्रीले बताईन। घटनाको बारेमा थप अनुसंधान भइरहेकोेले घटनाको कारण यकिन हुन नसकेको  प्रहरीले जनाएको छ । 
 कञ्चनरुप नगरपालिकाको बिशेष सहयोग एवं पहलमा तथा डिट्ठा पोखरी सुधार समितिको आयोजनामा गत जेष्ठ १७ गते देखि सुरु भएको कञ्चनरुप महोत्सवमा नाच्न आएका व्यक्तिहरु ५ दिन देखि यसै होटल एण्ड लजमा बसिरहेकोले घटना शंकास्पद रहेको बुझिएको छ ।
नाच्न आउने ब्यक्तिहरु संग समेत प्रहरीले सोधपुछ गर्नु पर्ने भएकोले मंगलबारको महोत्सवमा नाचगान प्रभावित हुन सक्ने संभावना रहेको छ ।

प्रतिक्रिया