कञ्चनपुर, जेष्ठ २८ गते । तीन साता बितिसक्दा पनि प्रहरीले सडक दुर्घटनामा संलग्नको पहिचान गर्न नसकेको भन्दै दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्यहरुले अनुसन्धान प्रक्रिया फितलो रहेको गुनासो गरेका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित कञ्चनपुर—फत्तेपुर सडकमा गत जेष्ठ ९ गते राति करिब ८बजे मोटरसाइकलले पैदल यात्री जयमाला देवि गुप्तालाई ठक्कर दिएको थियो । कञ्चनपुर बेरियरमा आयोजित अष्टजाम हेरेर फर्किने क्रममा मोटरसाइकले गुप्तालाई ठक्कर दिएर फरार भएका थिए । ठक्करबाट घाईते भएकी जयमाला गुप्ताको प्राथमिक उपचार कञ्चपुर नगर अस्पतालमा भएपश्चात विराटनगर सिथ्त नोबेल अस्पतालमा थप उपचारका लागि पठाएका थिए ।
उपचारकै क्रममै घाईते जयमाला गुप्ताको गत जेष्ठ १५ गते मृत्यु भएको थियो । दुर्घटना भएको तेस्रो साता बित्न लाग्दा समेत प्रहरीले ठक्कर दिने मोटर साइकल र चालकलाई नियन्त्रणमा लिन सकेको छैन । इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक अवद्यकिशोर ओझासँग मृतक जयमाला गुप्ताको परिवारले आईतबार भेटेर घटना अनुसन्धानबारे सोधीखोजी गरेका थिए । सो क्रममा इप्रका कञ्चनपुरका प्रहरी निरीक्षक ओझाले घटनाबारे अनुसन्धान जारी रहेको र त्यसको नेतृत्व स्वयम डिएसपी महेन्द्र नेपालले गरीरहेको जानकारी दिएका थिए । भेटघाटका क्रममा प्रहरी निरीक्षक ओझाले अहिलेसम्म मोटरसाइकल चालक र गाडीबारे कुनै ठोस जानकारी नखुलेको बताए ।
मृतक जयमाला गुप्ताका छोरा डाक्टर तुला गुप्ताले घटना घटेको तीन साता बित्न लाग्दा समेत प्रहरीको अनुसन्धानबाट केही पनि नखुल्नु दुःखद रहेको बताउँदै दुर्घटनामा संलग्नलाई कार्यवाहीका लागि पीडित परिवारले के गर्नुपर्ने ? प्रश्न गरेका थिए । डाक्टर गुप्ताले सामान्य घटनामा प्रहरी र पत्राकारले चासो लिएपनि आफनो आमाको मृत्युको घटनालाई गम्भिरतापूर्वक नलिएको गुनासो गरेका थिए । दोषी पत्ता लगाउन प्रहरीले अनाकानी गरे अनशन बस्न पनि पछि नपर्ने बताउँदै डाक्टर गुप्ताले घटनाबारे तत्काल निष्पक्ष अनुसन्धान गर्न जोड दिएका थिए । पीडित परिवारसँगै अवलोकित दैनिकका सम्पादक भोला पासवान समेतले प्रहरीलाई घटनाबारे मिहिन अनुसन्धान गर्नुपर्नेमा जोड दिएका थिए ।
यता इलका प्रहरी कार्यालयबाट उक्त दुर्घटनामा संलग्न प्रहरी अधिकारीका अनुसार कञ्चनरुप नगरपालिकामा सिसिटिभि फुटेजका लागि गएपनि कुनै सहयोग नगरेको बताए । ती प्रहरी अधिकारीले भने,‘कञ्चनरुप नगरपालिका भित्रको सिसिटिभि मर्मतका लागि लिखित रुपमै १५ दिनअघि जानकारी गराएपनि नगरप्रमुख ललन प्रसाद गुप्ता र प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह(रौनियार)ले कुनै चासो लिएको छैन । ’
कञ्चनरुप ब्यापार संघका सचिव शशी साहले कञ्चनरुप नगरपालिकाले आर्थिक बर्ष २०७९÷०८०मा नगरभरी सिसिटिभी जडानका लागि २९ लाख ९७ हजार १ सय ६४ रुपैया खर्च गरेपनि कुन ठाउँमा क्यामरा लगाएको छ ? भनी समाजिक संजाल मार्फत प्रश्न गरेका छन् । नगर प्रमुख गुप्ता र उनको आसेपासेले बिल बनाएर उक्त रकम हिनामिना गरेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया