राजनीति र समाजसेवामा क्रियाशिल अशोक चौधरीको अल्पआयुमै निधन

...

सप्तकोशी,असार ९ गते । 
सप्तरीको सप्तकोशी नगरपालिका–२, प्रसाहा निवासी  राजनीति र समाजसेवामा संलग्न ५६ वर्षीय अशोक कुमार चौधरीको आईतबार अल्पआयुमै निधन भएको छ । 
उच्च रक्तचाँपका कारण पक्षघात भई एक महिनादेखि उपचाररत चौधरीको विहान करिब ९ बजे निधन भएको हो ।
सामुदायिक वन उपभोक्ता महासंघ  सप्तरीका अध्यक्ष समेत रहेको चौधरी ११ जेठमा रक्तचाप बढेर अचानक घरमै वेहोस भएपछि उनलाई तत्कालै उपचारका लागि विराटनगर स्थित न्युरो अस्पताल लगिएको थियो।
उपचारकै क्रममा उनको आईतबार विहान ९ वजे  निधन भएको परिवारीक श्रोतले जनाएको छ ।
चौधरी प्रसाहा सामुदायिक वनबाट प्रतिनिधित्व गर्दै सामुदायिक वन उपभोक्ता महासंघ सप्तरीको अध्यक्ष चुनिएका थिए । सप्तकोसी नगरपालिका वडा १ स्थित रहेको मनकामना बहुमुखी सहकारी संस्थाका विगत लामो समयदेखि अध्यक्ष समेत रहेका चौधरी दर्जनौं सामाजिक संघसंस्थामा आवद्ध रहि आर्थिक तथा सामाजिक रूपान्तरमा अविस्मरणीय योगदान गर्दै आएका थिए । 
सप्तकोशीमा नेपाली कांग्रेसका लोकप्रिय नेता चौधरी होटल तथा ढुवानी ब्यवसायमा संलग्न थिए। उनका श्रीमतीसहित छोराछोरी र नातिनातिना समेत छन् ।
 

प्रतिक्रिया