राजविराज साउन ८ गते ।
मोटरसाइकलको ठक्करबाट गत जेष्ठ १५ गते मृत्यु भएकी आफ्नी ५७ बर्षिय आमा जयमाला गुप्ताको घटनामा प्रहरीले अनुसन्धान गर्न ढिलासुस्ती गरेको आरोप पीडित परिवारले लगाएको छ । दुर्घटनामा मृत्यु भएकी जयमाला गुप्ताका छोरा डाक्टर तुलाकृष्ण गुप्ताले राजविराजमा मंगलबार पत्रकार सो आरोप लगाएका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एसोसिएट प्रोफेसर एवम् आकस्मिक कक्ष इन्चार्ज समेत रहेका डा. गुप्ताले दोषी पत्ता लगाउन प्रहरीले तदारुकता नदेखाएको गुनासो गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै डा. गुप्ताले आमालाई ठक्कर दिने मोटरसाइकल धनीको प्रभावमा परी प्रहरीले अनुसन्धान फितलो बनाएको आरोप लगाए । “शंका लागेको मोटरसाइकल धनी सम्पन्न र पहुँचवाला छन”, उनले भने, “विगतको घटनाहरुमा पनि प्रहरीलाई प्रभावमा पार्ने हैसियत राख्थे, यो घटनामा पनि प्रहरीलाई दवाव र प्रभाव पारी प्रभावकारी रुपले अनुसन्धान अगाडि बढ्न दिएको छैन । ” प्रहरीले ढिलासुस्ती गरेपछि पछिल्लो २ महिनादेखि जागिर छोडेर अनुसन्धानमा आफै सक्रिय भई धेरै प्रमाण जुटाएर प्रहरीलाई बुझाउँदा समेत प्रहरीले दोषीलाई नियन्त्रणमा लिएर कारबाही गर्ने चासो नदिएको उनले गुनासो गरे । घटनालाई लिएर इलाका प्रहरी कार्यालय कंचनपुर र जिल्ला प्रहरी कार्यालयमा पटकपटक धाउंँदा समेत सुनुवाइ नभएको उनले बताए । घटना बारे बुझ्न प्रहरी कार्यालय जाँदा प्रहरी अधिकारीहरुले रुखो व्यावहार देखाउने गरेको पत्रकार सम्मेलनमा उनले दुखेसो सुनाए । इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपाल र प्रहरी निरीक्षक अबोधकिशोर ओझासंग घटना सम्बन्धमा बुझ्न जाँदा उनीहरूहरुले गरेको व्यावहारप्रति असन्तुष्टि जनाउदै डा. गुप्ताले प्रहरीले घटना अनुसन्धानमा कति चासो राखेको छ भने कुरा यसैबाट पुष्टि हुने बताए । घटना अनुसन्धानमा प्रहरीले गरेको ढिलासुस्तीले थप आशंका उब्जाएको बताउदै डा. गुप्ताले न्यायका लागि पहल गरिदिन स्थानीय प्रशासन,संचारकार्मी, नागरिक समाज, मानवअधिकारकर्मी तथा सरोकारवालाहरुलाई आग्रह समेत गरे । घटनाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सुशान्त मिश्र आएपछि केही हदसम्म गम्भीरता देखाएको भन्दै डा. गुप्ताले अझै पनि न्याय पाउनेमा पुर्ण विश्वस्त हुन नसकेको बताए । प्रहरीबाट गरेको रुखो व्यावहारले थप पीडा थपीएको बताउंँदै उनले यसले आफुलाई अझै निराश तुल्याएको दुखेसो पोखे । आमाको न्यायका लागि लडेको दुई महिना बितिसकेको छोरा डा. गुप्ताले पत्रकार सम्मेलनमा बताए । ‘दैनिक जसो इलाका प्रहरी कार्यालय कञ्चनपुर, जिल्ला प्रहरी कार्यालय र यहाँका जनप्रतिनिधि एवम् नेताका दैलो चहार्दैमा समय बितिरहेको छ’ उनले भने, ‘अहिलेसम्म पनि आमालाई ठक्कर दिने मोटरसाइकल र त्यसका चालकको पहिचान हुन सकेको छैन ।’ ‘अनुसन्धानका लागि गृह मन्त्रालय हेल्लो सरकारसम्म गुहारें,’ उनले भने, ‘उच्च पदस्थ प्रशासनिक अधिकारीलाई न्याय दिलाइदिन याचना गरें । तर अझै पनि प्रहरीले ठक्कर दिने मोटरसाइकल र चालकको खोजीमा सक्रियता देखाएको छैन ।’ डा. गुप्ताका अनुसार कञ्चनरूप–८ मै रहेको मन्दिरमा पूजा गरी फर्किने क्रममा गत जेठ ८ राती साढे ८ बजे दक्षिणबाट उत्तरतर्फ गइरहेको नम्बर खुल्न नसकेको मोटरसाइकलले कञ्चनपुर–फतेपुर सडक खण्डमा ठक्कर दिएको थियो । ठक्करबाट ‘सिभियर ब्रेन इन्जुरी’ भई अस्पताल भर्ना गरिएकी जयमालाको उपचारका क्रममा गत जेठ १५ मा विराटनगरमा मृत्यु भएको थियो । ‘आमा दुर्घटनामा पर्नुभएको खबर पाएपछि तत्कालै जुम्लाबाट आएर एक हप्तासम्म उपचार गरे पनि आमालाई जोगाउन सकिएन,’ डा. गुप्ताले भने, ‘धर्म परम्परा अनुसार १३ दिनको किरिया बसेदेखि २ महिनासम्म ठक्कर दिने सवारी साधनको खोजीका लागि स्थानीय प्रहरी कार्यालय धाएको धायै छु, प्रहरी प्रधान कार्यालयदेखि गृहमन्त्रीसम्म गुहारेको छु तर पनि दोषी पत्ता लागेको छैन ।’ इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी महेन्द्र नेपालले घटना बारे सुक्षम अनुसन्धान भइरहेको बताउदै दवाब र प्रभावमा परेको भन्ने तथा प्रहरीमाथी लगाएको आरोपहरु निराधार रहेको बताए । ‘हामी अनुसन्धानकै क्रममा छौं,’ उनले भने, ‘सीसीटीभी क्यामरा व्यवस्थित नहुँदा पनि समस्या भएको हो । घटनाबारे प्रस्ट भइरहेको छैन, संकलित फुटेजहरू अध्ययन गरी सवारी साधन पहिचान गर्न लागेका छौं ।’
प्रतिक्रिया