कञ्चनपुर शहरी खानेपानी उपभोक्ता संस्थाद्वारा सरकारले तोकेको भन्दा ७ गुणा बढी महसुल दर निर्धारण : मासिक महसुल १७ हजार भन्दा बढी

...

कञ्चनपुर,साउन १0 गते ।
कञ्चनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सरकारले तोकेको न्यूनतम महसुल दरभन्दा ७ गुणा बढी शुल्क तोकेर जनताको ढाड सेक्ने काम गरेपछि उपभोक्ताहरु आन्दोलनको तयारी थालेका छन् ।
कञ्चनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले नगरपालिका समेतलाई बेवास्ता गरी सरोकारबालसँग छलफल बिनै न्यूनतम महसुल दर कानूनभन्दा ७ गुणा बढी तोकेपछि उपभोक्ताहरु आन्दोलित भएका हुन् । 
खानेपानी सेवा महसुल (असुल उपर गर्ने) नियमावली, २०५०को नियम ९ अनुसार धाराको महसुल दर न्यूनतम २० रुपैया तोकेको छ तर कञ्चनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले १५० रुपैया तोकेको छ । उक्त रकम सरकारले तोकेको भन्दा ७ गुणा बढी हो । 
कञ्चनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सरोकारबालासंगको विना कुनै छलफल अत्यधिक महसुल तोकेपछि सर्वसाधरण जनताको घरमा मासिक १७ हजारभन्दा बढीको बिल उठेको छ । कञ्चनरुप नगरपालिका८का सुरेश कुमार राउतको २०२ युनिटको महसुल १७ हजार २ सय ९५ रुपैया उठेको छ । त्यसैगरी सोही वडाका बिनोद सरबरियाको १५६ युनिटको १३ हजार ६ सय ९५ रुपैया,नन्दकिशोर प्रसाद गुप्ताको ५४ युनिटको ३हजार ४ सय ९५ रुपैया,विनिता चौधरीको ३९ युनिटको एक हजार ९ सय ९५ रुपैया,किरण गुप्ताको ३६ युनिटको १ हजार ६ सय ९५ रुपैया,काशीनाथ शरणको २९ युनिटको ११ सय ५५ रुपैया,विरेन्द्र प्रसाद गुप्ताको २३ युनिटको ७८५ रुपैया महसुल उठेको छ ।
कञ्चनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको लुटका बिरुद्ध जनताहरुले आन्दोलनको तयारी गरेको छ । उपभोक्ता समितिका सदस्य समेत रहेका कञ्चनरुप ८का उमेश प्रसाद गुप्ताले भने,‘ हामी वडास्तरीय समितिका व्यक्तिहरुलाई समेत कुनै जानकारी महसुल निधारणबारे कुनै जानकारी छैन,केही व्यक्तिहरुले खानेपानीलाई बपौती बनाएका छन् ।’
कञ्चनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गरीरहेको लुटका विरुद्ध जनताहरुलाई एक जुट बनाउने काममा लागेको छु ।’ स्थानीय मदन प्रसाद गुप्ताले भने,‘ उपभोक्ताहरुसँग मासिक रुपमा उठको महसुलको रसिद संकलन गर्ने काम भइरहेको छ । ’ उनले भने,‘ हामीले कञ्चनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गरीरहेको बदमासीबारे कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्तालाई समेत लिखित रुपमा जानकारी गराएका छौं तर उहाँले समस्या समाधान गर्नुका सट्टा कञ्चनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाल तालाबन्दी गर्न उक्काउने सल्लाह दिनुभयो ।’ 
उपभोक्ता अधिकारका लागि तालाबन्दी अन्तिम विकल्प हो,हामीले नगरप्रमुखको हैसियतमा उहाँले केही पहल गनुहुन्छ कि भन्ने आशमा गत असार ३० गते नै ज्ञापन पत्र बुझाएका छौं ।’ अगुवा मदन प्रसाद गुप्ताले भने,‘ उपभोक्ताहरु र नागरिक समाजका प्रतिनिधिहरुको वृह्त भेलाको तयारी भइरहेको छ । खानेपानीका अन्य मुद्दाहरुमा समेत हामी छलफल गर्छौ ।’
कञ्चनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भुवन बहादुर केसीले खानेपानीको महसुल दर निर्धारण गर्नका लागि कञ्चनरुप नगरपालिका नगरप्रमुख ललन प्रसाद गुप्तासँग पटक पटक समय माग गरेपनि उहाँ व्यस्त भएकोले समितिले आफैले न्यूनतम महसुल दर निर्धारण गरेको बताए । अध्यक्ष केशीले भने,‘ उपभोक्ताहरुको गुनासो धेरै आएको छ,हामी सर्वपक्षिय बैठक गरेर शुल्कको दर परिमार्जन गछौं ।’ 
 

प्रतिक्रिया