अन्तर्राष्ट्रिय समुदायमा कुनै पनि मुलुकको मान प्रतिष्ठा मापन गर्ने विभिन्न सूचक मध्ये राहदानी (पासपोर्ट) एउटा महत्वपूर्ण सूचक हो । आर्थिक, शैक्षिक लगायत अन्य प्रमुख सूचकहरूमा पछाडि परेको नेपाल राहदानीको मामिलामा अत्यन्तै कमजोर देखिएको छ ।
कमजोर नेपाली राहदानी :
गएको १५-२० वर्ष यता लगातार खस्कँदै गएको नेपालको राहदानीको स्थिति सन् २०२४ मा झन् कमजोर बनेको छ । विश्वभरका देशहरूको तुलनामा नेपाली राहदानीको हैसियत ९८ औं स्थानमा देखिएको छ । 'पासपोर्ट र्याङ्किङ' को सूचीमा नेपाल सबै भन्दा कमजोर मध्ये, सूचीको तलबाट, छैठौँ स्थानमा रहेको छ । दक्षिण एसियाली राष्ट्रहरूको सम्दर्भमा नेपाल पाकिस्तान र अफगानिस्तान पछि तेस्रो सबै भन्दा तल रहेको छ । दक्षिण एशियाका अन्य देश बंङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, श्रीलंकाका पासपोर्ट नेपालको भन्दा बलिया छन् ।
नागरिकले बोक्ने सामान्य राहदानीले विदेश यात्राका क्रममा पाउने प्रतिष्ठा र स्वतन्त्रताका आधारमा विश्वभरका देशहररूको 'पासपोर्ट र्याङ्किङ' गर्ने 'ह्यानले पासपोर्ट सूचकाङ्क' का अनुसार सन् २०२४ मा भारतीय राहदानी ८० औं स्थानमा छ भने चीनको ६२ औं स्थानमा छ ।
हाम्रो छिमेकी भूटान ८७ औं स्थानमा छ भने माल्दिभ्स ५८ औं, श्रीलंका ९६ औं, र बङ्गलादेश ९८ औं स्थानमा छन् । दक्षिण एसियाका दुई सबैभन्दा कम र्याङ्किङ भएका देश, पाकिस्तान र अफगानिस्तानको राहदानी क्रमशः १०१ औं र १०४ औं स्थानमा छन् ।
ह्यानलेले हालै सार्वजनिक गरेको २०२४ को शक्तिशाली राहदानी सूची अनुसार, नेपाल अन्तिमबाट छैठौँ स्थानमा छ र समग्रमा ९८ औं स्थानमा छ ।
'ह्यानले सूचकाङ्क' मा हाम्रो राहदानी कैयौँ वर्षदेखि लगातार सबैभन्दा कमजोर राहदानीको लहरमा आउने गरेको छ । स्थिति यति सम्म खराब बनेको छ कि एशियाका पर्यटकीय गन्तव्यहरू इन्डोनेसियाको बाली, थाईल्याण्ड र मलेशियाले पनि नेपालीलाई 'अन अराइभल' भिषा दिन छोडेको धेरै वर्ष भयो ।
विगतमा, धेरै वटा एशियाली र यूरोपेली देशहरूले नेपाली नागरिकहरूलाई 'अन अराइभल' भिषा दिन्थे भने अहिले यो सुविधा दिने केही देश मात्र छन् । अर्थात् नेपाली नागरिकलाई सम्मान गर्ने देश र समाज संसारभर घट्दै गएका छन् !
नेपालमा रहेका विदेशी राजदूतावासहरू मध्ये केहीले मात्र काठमाडौँबाट भिषा जारी गर्छन् । कतिपय राजदूतावासले कन्सुलर सेवालाई नयाँ दिल्लीमा रहेको उनीहरूको दूतावासमा सारेर नेपाली नागरिकहरूलाई त्यहिँबाट भिषा जारी गर्छन् ।
सबै भन्दा कमजोर राहदानीको सूचीमा परेका अन्तिम १० देश मध्ये ८ वटा देश मुस्लिम राष्ट्र रहेको तथ्याङ्क ह्यानलेको प्रतिवेदनमा परेको छ । सूचीको अन्त्यमा अफगानिस्तान छ भने दोश्रो र तेश्रोमा क्रमश: सिरिया र इराक छन् । पाकिस्तान र यमन चौथो दर्जामा परेका छन् भने सोमालिया पाँचौँ स्थानमा छ । नेपाल र लिबिया समान छैठौँ स्थानमा रहेका छन् । बङ्गलादेश र प्यालेष्टिन सातौँ स्थानमा छन् भने उत्तर कोरियाले आठौँ हैसियत प्राप्त गरेको छ । इरिट्रियाले नौवौँ स्थान पाएकोमा इरान र सुडानको स्थान दशौँ छ ।
शक्तिशाली देशका बलिया राहदानी :
विश्वमा सबैभन्दा शक्तिशाली राहदानी फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर, र स्पेनका रहेछन् । यी सबै देश पहिलो स्थानमा छन् । यी देशका नागरिकले १९४ देशमा भिषा नलिइकन भ्रमणमा जान पाउँछन् । अर्को शब्दमा भन्ने हो भने यी राष्ट्रका नागरिक र पासपोर्टको प्रतिष्ठा यति उच्च छ कि त्यहाँका नागरिक विश्वका लगभग सबैजसो देशमा विना भिषा प्रवेश गर्न पाउँछन् !
सातौं स्थानमा रहेको संयुक्त राज्य अमेरिकाको राहदानीले १८८ देशमा अग्रिम भिसा प्राप्त नगरी प्रवेश पाउँछ । भारतको राहदानी ८० औं स्थानमा छ । भारतीय राहदानीवाहकले ६२ देशमा 'अन अराइभल' भिषा पाउँछन् । अर्थात् पहिले नै भिषा लिइरहनु पर्दैन । चीनको राहदानी ६२ औं स्थानमा छ चीनियाँ नागरिकले ८५ देशमा 'अन अराइभल भिषा पाउँछन् ।
'ह्यानले पासपोर्ट सूचकाङ्क' अन्तर्राष्ट्रिय हवाई यातायात संघबाट प्राप्त तथ्याङ्क तथा जानकारीमा आधारित छ । ह्यानलेको अनुसन्धान विभागले थप खोजी गरेर यो प्रतिवेदन तयार पारेको जनाएको छ ।
नेपाली पासपोर्ट सम्बन्धी यो नवीन जानकारी अधिकांश नेपाली नागरिकका लागि स्वभाविक जस्तो लाग्न सक्छ । विगत् दुई दशकदेखि खस्कँदो हैसियतको हाम्रो राहदानीका कारण विदेश जाँदा नेपालीहरूले अनेक अपमान सहनु परेका समाचार आउने गरेका छन् । र, विश्व सम्बन्धका हिसाबले हेर्दा नेपाली अपमानजनक अवस्थामा छन् ।
नेपाली राहदानी किन कमजोर ?
नेपालको राहदानी किन यति कमजोर भयो ? विशेषज्ञहरूले अनेक पक्ष र कारणले गर्दा हाम्रो राहदानी कमजोर बन्दै गएको, राष्ट्रको प्रतिष्ठामा आँच आएको र नेपाली नागरिकले विदेश भ्रमण गर्दा अपमान सहनु परेको बताउने गरेका छन् ।
विगत् केही वर्ष यता नेपाली राहदानीको प्रतिष्ठा उल्लेखनीय रूपमा घटेको छ । विश्वव्यापी रूपमा, नेपालको राहदानी अन्तिमबाट छैठौं स्थानमा छ । यो स्थितिमा सुधार गरी नेपालको प्रतिष्ठा विश्व समुदाय सामू उच्च पार्न सरकारले तत्काल आवश्यक कदम चाल्नु जरूरी छ ।
* आदिल अली रूपनगर नन्दराज संग्रौला क्याम्पसमा बिबिएस पहिलो वर्षका विद्यार्थी हुन् ।
साभार : रूपनगर क्याम्पस फिचर सेवा ।
प्रतिक्रिया