कञ्चनपुर, साउन २४ गते ।
कञ्चनरुप नगरपालिका ४ स्थित शुभलक्ष्मी बचत तथा ऋृण सहकारी संस्था लिमिटेड अनियमितामा संलग्नलाइृ कार्यावाही गर्न जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई पत्राचार गरेको छ ।
बचतकर्ताहरुको करिब २ करोड रकम फिर्ता नगरेपछि पीडितहरु इलका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएपनि प्रहरीले मिलापत्र गर्न भन्दै मुद्दा दर्ता नगरेपछि पीडितहरु जिल्ला सरकारी वकिल कार्यालय राजविराज मार्फत कार्यवाही अघि बढाउन लगाएका छन् ।
गत साउन १७ गते सहकारी संस्था पूर्व सचिव लक्ष्मण साहले पुर्व अध्यक्ष छोटेलाल साह, छोटेलाल साहका दाजु एवं संचालक समितिका सदस्य कैलाश साह, तत्कालिन व्यवस्थापक रामअवतार ठाकुर,तत्तकालिन सचिव कमलो महतो र लेखापाल अजित चौधरीमाथि ठगी,अपराधिक विश्वासघात तथा सहकारी सम्बन्धी कसुरमा कार्यवाही गर्न निर्देशन सहितको कारवाही गर्न निवेदन दिएका थिए ।
उक्त निवेदनका आधारमा सरकारी वकिल कार्यालयले इलका प्रहरी कार्यालय कञ्चनपुरलाई आवश्यक निर्देशन सहित कार्यवाही प्रक्रिया अघि बढाउन पत्राचार गरेको हो । कैलास साह नेपाली काग्रेसका कञ्चनरुप नगर सभापति र वडा नम्बर ५का वडाअध्यक्ष हुन् । राजनीतिक आडमा प्रहरीलाई प्रभावमा पारेर पीडितहरुको जाहेरी दर्ता नगरेपछि उनीहरु सरकारी वकिल कार्यालय जान बाध्य भएका हुन् ।
इलका प्रहरी कार्यालय कञ्चनपुरमा एक दर्जनभन्दा बढी व्यक्तिहरुले उजुरी दिएपनि प्रहरीले उक्त उजुरीमाथि कार्यवाही गर्नुका सट्टा आपसमा मिलापत्र गराउनेतर्फ लागेका छन् ।
सहकारी संचालक समिति र कर्मचारीहरुले सहकारी संस्थाका सदस्यहरुको २ करोडबढी रकम फिर्ता गर्न आनाकानी गरेपछि पाँचजना सहकारी अभिकर्ता ( बचत उठाउने मान्छे) ले पीडित पक्षको अगुवाई गर्दै इलाका प्रहरी कार्यालय कंचनपुरमा निवेदन दिएका थिए ।
सहकारीलाई राजनीति गर्ने थलो बनाएपछि शुभलक्ष्मी बचत तथा ऋृण सहकारी संस्था डुबेको हो । कञ्चनरुप नगरपालिका ५का वडाअध्यक्ष कैलास साहको भाई छोटेलाल साहले स्थापना गरेको सहकारीमा जथाभावी लगानी गरेपछि सहकारीमा बचतकर्ताहरुको रकम जोखिममा परेका छन् ।
सहकारी संचालकले बचत गरेको रकम फिर्ता नगरेपछि सप्तरीको कञ्चनरुप नगरपालिका २ की पीडित श्याम कुमारी चौधरी शुक्रबार रुदै ईलाका प्रहरी कार्यालय कञ्चनपुर पुगेकी छिन् । संचालकहरुले बचत गरेको १० लाख रुपियाँ फिर्ता नगरेपछि न्यायका लागि उनी प्रहरी कार्यालय पुगेकी हुन् ।
श्रीमान विरेन्द्र चौधरीको नाममा सहकारी संस्थामा खाता संचालन गरी खाइनखाई जम्मा गरेको १० लाख रुपियाँ फिर्ता नदिंदा पुरै परिवार विचल्लीमा परेको उनले बताइन् ।
विश्वासमा परेर कमाएको सबै सम्पत्ति सहकारीको खातामा जम्म गरेँ तर अहिले विरामी हुँदा कुनै आपत्तविपतमा तथा आबश्यक पर्दा पैसा निकाल्न खोज्दा संस्थाका पदाधिकारी तथा कर्मचारीहरुले दिन नमान्दा परिवारको विजोग भएको उनले बताइन् ।
“छोराछोरीको पढाईको फिस बुझाउंँने सम्म पैसा छैन गहभरी आँसु चुहाउँदै उनले भनिन् त्यसैको चिन्ताले भोकप्यास हराएको छ, भक्कानीदै उनले थपिन्, पैसाकै कारण छोराछोरी परिक्षाबाट बन्चित भयो, दुख सम्झिदा रातको निन्द्रा समेत हराउँछ।” उनले सहकारी संस्थामा गरेको बचत फिर्ताका लागि पहल गरीदिन स्थानीय प्रशासन तथा सरोकारवालाहरुसंग आग्रह समेत गरिन ।
चौधरीको जस्तै एउटै समस्या बोकेर सयौंको संख्यामा सोही सहकारी संस्थाका पीडितहरु शुक्रबार इलाका प्रहरी कार्यालयमा डेलिगेशन गएका छन् । सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीले आफुहरुको दुई करोड भन्दाबढी रकम ठगी गरेको भन्दै उनिहरु प्रहरी कार्यालय पुगेका हुन् ।
पीडितहरु प्रहरी कार्यालय पुगेपछि प्रहरीले सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरुलाई झिकाएर छ्लफल गराएको एक पीडितले जानकारी दिए । छलफलमा पीडितहरुले आफुहरुले सहकारीमा जम्मा गरेको रकम अविलम्ब फिर्ता गर्न माग गरेपछि सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरुले बचत गरेको रकम ऋृण लगानी गरिएकोले उठाएपछि मात्र फिर्ता हुने बताएपछि सहमति जुट्न नसकेको उनले बताए ।
बचत फिर्ता गर्न संस्थाका पदाधिकारी तथा कर्मचारीहरु तयार नभए कानुनी कारबाही तथा सडक संघर्षमा उत्रिनु बाध्य हुने पीडितहरुले चेतावनी दिएका छन् ।
यता सहकारीका अध्यक्ष हरिदयाल मुखियाले आफ्नो कार्यकालमा कुनैपनी आर्थिक कारोबार नभएको बताउंँदै यसको सम्पुर्ण जिम्मेवारी पुर्व अध्यक्षसहितका संचालक समितिले लिनुपर्ने बताए । पुर्व अध्यक्ष छोटेलाल साहले सहकारीका सदस्यहरुले गरेको बचत उनीहरुमाथि नै लगानी गरिएकोले ऋृण उठेपछि बचत रकम पनि फिर्ता गर्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया