राजविराज, साउन २८ गते ।
जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले निस्वार्थ भावनाले जनताको चाहना बमोजिम पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
सोमबार सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित जिल्ला कार्य समितिको घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल परित्याग गरि छुट्टै पार्टी गठन गरेपछि पहिलो पल्ट सप्तरी आएका राईले पार्टीका इमान्दार कार्यकर्ताहरु आफूहरुका साथमा रहेकाले छिट्टै देशव्यापी पार्टी बनाउने घोषणा गरेका छन् ।
पार्टीका अन्य महत्वपूर्ण नेताहरुका साथ सप्तरी पुगेका अध्यक्ष राईले हिमाल, पहाड, तराई सबै ठाउँमा पार्टीप्रति आकर्षण बढेको दाबीका साथ निर्धक्क भएर पार्टी निर्माण र जनताको सेवामा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।
सोही कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले अवसरवादीहरुलाई छाडेर आफूहरुले निर्माण गरेको संगठनमा अधिकारका लागि लडेका, दुःख पाएका, निस्वार्थ र स्वाभिमानी साथीहरुको साथ रहेको कारण पार्टीको भविष्य उज्जवल रहेको दाबी गरे । उनले आफूहरुले पार्टी फुटाएको नभई लोभि र स्वार्थीहरुको संगत छोडेर असल पार्टी निर्माण गरेको जिकिर दोह्राए ।
कार्यक्रममा खानेपानी मन्त्री प्रदिप यादवले आफूहरुले उपेन्द्र यादवलाई नेता मान्दै आएको भएपनि उनमा बढ्दो अंहकार, सत्ता स्वार्थ र तानाशाही प्रवृतीका कारण उनको साथ छोड्नु परेको खुलासा गरे । “उपेन्द्रले हालसम्म पार्टीलाई प्राइभेट लिमिटेड कम्पनीको रुपमा चलाए, उनले भने –सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी देखाए ।”
उनको अंहकारी स्वभावले गर्दा महन्थ ठाकुर, बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई, बिजय गच्छदार, जयप्रकाश गुप्ता, रेणु यादव लगायतका अन्य कतिपय नेताहरुसमेत उनको नेतृत्वमा टिक्न नसकेको उदाहरण दिँदै मन्त्री यादवले त्यस्तो पार्टीमा अन्य इमान्दार कार्यकर्ताहरुको भविष्य सुनिश्चित नरहेको ठोकुवा गरे ।
उपेन्द्र नेतृत्वको पार्टीलाई सत्ता स्वार्थीहरुको पसलको संज्ञा दिँदै उनले अबको केही दिनपछि नै सो पसल बन्द हुने दाबी समेत गरे । जसपा नेतृत्वको ६÷६ वर्षसम्म मधेश प्रदेशमा सरकार हुँदा जनताले सरकारको अनुभुति गर्न नपाएको र योजनाहरु १० प्रतिशत लिएर खुलेआम बजारमा बिक्रि हुने गरेको उनले खुलासा समेत गरे ।
सत्यनारायण यादवको नेतृत्वमा जसपा जिल्ला कार्यसमिति, शिवम यादवको नेतृत्वमा जसपा युवा समाजवादी समिति तथा अनुराधा साहको नेतृत्वमा महिला समाजवादी जिल्ला कार्यसमिति सप्तरी गठन गरिएको घोषणा उक्त कार्यक्रममा गरिएको थियो ।
सो अवसरमा पार्टीका सहअध्यक्ष रेणु यादव, महासचिव इस्तियाक राइन, मधेश प्रदेश अध्यक्ष अशोक यादव, केन्द्रिय सदस्य राजकिशोर यादव, बिनोद चौधरी लगायतले पनि बोल्दै उपेन्द्र यादवले पार्टीलाई प्राइभेट लिमिटेड र सिन्डिकेटको रुपमा चलाएको भन्दै चर्को आलोचना गर्दै सोही कारणले आफूहरु अलग भएको बताएका थिए ।
कार्यकर्ताहरुको अत्याधिक भिडका कारण सभाहलमा चर्को गर्मी रहँदा पनि त्यहा जडान गरिएका दुई वटा कुलरलाई सहभागि कार्यकर्ताहरु तर्फ घुमाउन लगाएर नेताहरु चर्को गर्मी सहेर भएपनि मञ्चमा समय दिएका थिए ।
प्रतिक्रिया