मधेशमा जसपाले संगठन विस्तारलाई तिब्रता दिदैँः सप्तरीपछि सर्लाहीमा जिल्ला समिति गठन 

...

कञ्चनपुर,साउन ३२ गते ।

मधेश प्रदेशमा अशोक कुमार राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले संगठन विस्तारलाई तिब्रता दिएको छ ।
मधेश प्रदेशमा सप्तरीपछि बिहीबार सर्लाहीमा वृह्त अगुवा कार्यकर्ता भेला गर्दै उक्त भेलाबाट २५ सदस्य जिल्ला कार्यसमिति गठन गरेका छन् । पार्टीका केन्द्रीय अध्यक्ष अशोक कुमार राईको प्रमुख आतिथ्यताकमा सम्पन्न जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा जिल्ला समिति घोषणा सभा कार्यक्रम मार्फत शम्भु प्रसाद यादवको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति गठन गरिएको हो ।
जसपा मधेस प्रदेश संयोजक तथा पूर्व प्रदेश सभा सदस्य अशोक कुमार यादवको अध्यक्षतामा अगुवा कार्यकर्ता भेला तथा जिल्ला समिति घोषणा सभा सम्पन्न भएको हो । पार्टीको सङ्गठनलाई सुदृढ बनाउनका लागि स्थानीय तहमा क्रियाशील कार्यकर्ताहरूलाई जिम्मेवारी दिनुपर्ने आवश्यकता वक्ताहरूले औँल्याएका छन् । 

कार्यक्रममा प्रमुख अतिथि जसपा केन्द्रीय अध्यक्ष अशोक कुमार राईले वर्तमान राजनीतिक परिप्रेक्ष्यमा जनता समाजवादी पार्टीको भूमिकालाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले मधेसको हक अधिकार र संघीयता जोगाउन पार्टीले निरन्तर सङ्घर्ष गर्ने उल्लेख गरे । राईले भने, “जनताको आवाजलाई सुनुवाइ गराउन र मदेसको विकासका लागि हामीले एकताबद्ध भएर अगाडि बढ्न जरुरी छ ।”
पार्टीका सह–अध्यक्ष तथा पूर्व मन्त्री रेणु कुमारी यादवले महिला र अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्वलाई सुदृढ बनाउनुपर्नेमा जोड दिइन् । उनले भनिन्, “हामीले आफ्नो सङ्गठनभित्र महिलाको नेतृत्वलाई अझै सशक्त बनाउनुपर्छ । यो नयाँ कार्यसमितिले यस दिशामा ठोस कदम चाल्ने विश्वास लिएको छु ।”
सचिव तथा पूर्व मन्त्री डा. वीरेन्द्र कुमार महतोले जनताको हितमा काम गर्न नवनिर्वाचित कार्यसमितिलाई निर्देशन दिए । उनले भने, “हामीले जनताको अपेक्षालाई पूरा गर्नुपर्छ, जसका लागि निरन्तर काम गर्न तत्पर रहनुपर्छ ।”
पार्टीका केन्द्रीय सदस्य तथा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वर्तमान राजनीतिक अवस्थाले मधेसको अधिकार र पहिचानलाई चुनौती दिएको उल्लेख गर्दै, यस चुनौतीको सामना गर्न पार्टीले सबै तह र तप्कामा सङ्गठनलाई बलियो बनाउनुपर्ने धारणा राखे । “हामीले आफ्नो अस्तित्व र अधिकारलाई जोगाउनका लागि सशक्त रूपमा अघि बढ्नुपर्छ,” सिंहले भने ।
केन्द्रीय सदस्य तथा पोखरिया नगरपालिकाकी पूर्व उपमेयर सल्मा खातुनले पार्टीको नयाँ कार्यसमितिले मधेसका जनताको समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, “हामीले आफ्नो कार्यकालमा जनताका समस्याहरूको निराकरणमा ध्यान दिनुपर्छ, जसले गर्दा जनतामा पार्टीप्रतिको विश्वास अझ सुदृढ हुनेछ ।”
कार्यक्रममा अन्य नेताहरूले पनि आफ्नो भनाइ राख्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए । उपस्थित कार्यकर्ताहरूले नयाँ नेतृत्वलाई बधाई दिँदै, सङ्गठनलाई बलियो बनाउनका लागि एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया