बँदेलको अवैध सिकार गर्ने पूर्वडिआइजीसहित १० जना रिहा :  दोषीलाई उन्मुक्ति दिने तयारी

...

कञ्चनपुर, भदाै १४ गते ।

बँदेल सिकार गरेको अवस्थामा हातहतियारसहित पक्राउ परेका नेपाल प्रहरीका पूर्वडिआइजी, बहालवाला सइसहित १० जनालाई प्रहरीले बिहीबार राती हाजरी जबानीमा छोडेका छन।
 सप्तरी प्रहरीले सिकारीलाई उन्मुक्ति दिने तयारी गरेको छ । बुधबार राति २ बजे हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह योगीनायाँ कोशी पलार क्षेत्रमा बँदेल मारेर को.२त ६९ नम्बरको ट्रयाक्टरमा लोड गरेको अवस्थामा पक्राउ परेका पूर्वडिआइजी ज्ञानविक्रम शाह, सइ सञ्जय न्यौपाने र पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादवसहितलाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ । बँदेल बेवारिसे अवस्थामा बरामद भएको भन्दै डिभिजन वनलाई प्रहरीले मुचुल्का बुझाएको छ । सप्तरीका डिभिजनल वन अधिकृत सुभाषचन्द्र दासले बँदेल मृत अवस्थामा फेला परेको मुचुल्का पठाएको बताए । ‘घटना के भएको हो हामी पनि अनुसन्धानमा छौँ,’ उनले भने । सप्तरी प्रहरीका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले शुक्रबार उपस्थित हुने गरी हाजिरी जमानीमा उनीहरूलाई छाडिएको बताए । तर, मुचुल्का र घटनाबारे थप बताउन चाहेनन् ।

वन्यजन्तु ऐन आकर्षित हुने भएपछि कमजोर बनाइयो मुचुल्का
बँदेलको चोरीसिकार घटना अनुसन्धानका लागि पूर्वडिआइजी साहसहित १० जना पक्राउ परेको सूचना सप्तरी प्रहरीका प्रवक्ता ढुण्डीराज न्यौपानेले बिहीबार मिडियालाई दिएका थिए । त्यतिन्जेल एकथरीको तर्क थियो– मन्त्रिपरिषद्ले ७ मंसिर ०८० मा कृषि हानिकारक वन्यजन्तु भनेर बँदेललाई घोषणा गरिसकेको छ, वनजंगलबाहिर बँदेल मार्दा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन आकर्षित हुँदैन ।

जबकि, बँदेललाई पासो लगाएर, हातहतियारले मार्न पाइँदैन । निजी खेत, खला, बारीमा आई क्षति पु¥याउने अवस्थामा मात्र बँदेललाई विनाअनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सकिने व्यवस्था ८ मंसिर ०८० मा राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ । पूर्वडिआइजी पक्राउ परेको घटनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ०२९ आकर्षित हुने भएपछि प्रहरीले मुचुल्कामा खेलेको हो । 

राष्ट्रिय निकुञ्ज र आरक्षमा भएको वन्यजन्तुको सिकार घटनामा निकुञ्ज विभाग र मुद्दामा तथा त्यसबाहिरको हकमा डिभिजनल वन कार्यालयले जिल्ला अदालतमा मुद्दा चलाउँछन् । वन्यजन्तु संरक्षण ऐनअनुसार दफा २६ (३) अनुसार संरक्षित क्षेत्रभित्र पनि अनुज्ञापत्र नलिई वन्यजन्तु सिकार गरी मारेमा वा घाइते बनाएमा २० हजार रुपैयाँदेखि ५० हजारसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । डिभिजन वनले बँदेलसहितका वन्यजन्तु चोरीसिकार घटनामा यही कसुरमा मुद्दा चलाउने गर्छ ।

सिकार गरेर ट्रयाक्टरमा लोड गरेको अवस्थामा जफत भएको थियो बँदेल
बँदेलको सिकार गरी ट्रयाक्टरमा लोड गरिएको अवस्थामा प्रहरीले जफत गरेको थियो । कोे.२त ६९ नम्बरको ट्रयाक्टर र प्र ३–०१– ०२२ च ६८५५ नम्बरको स्कार्पियो सिकारमा प्रयोग भएको थियो । प्रहरीले घटनास्थलबाट २२ क्यालिबरको एउटा राइफल, दुइटा म्यागजिन, १५ राउन्ड गोली, तीनवटा बाइनाकुलर, एक ट्राइपोर्ट, एक–एक थान फलामको हथौडा र खुर्पा पनि बरामद गरेको थियो । पक्राउ परेकाविरुद्ध हातहतियार खरखजना ऐन ०१९ अनुसार पनि मुद्दा चल्ने हुन्छ । तर, प्रहरीले अनुसन्धानको क्रममा रहेको भन्दै थप बताएको छैन ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–२ घर भएका पूर्वडिआइजी ज्ञानविक्रम शाह, विराटनगर महानगरपालिका–३ घर भएका नेपाल प्रहरीका बहालवाला सइ सञ्जय न्यौपाने र हनुमाननगर कंकालिनी नगरपालिका–८ घर भएका पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादव, इटहरी–२ का प्रदीप लिम्बू, राजविराज नगरपालिका–७ का रवीन दास, तिरहुत–२ का लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी–२ का जनार्दन राउत, वडा नम्बर ५ का ओमशंकर प्रसैला, वडा नम्बर १ का लक्ष्मण मण्डल, वडा नम्बर ३ का शंकर खिडहरी यादव हुन् ।

प्रतिक्रिया