मधेश प्रदेशकै पहिलो बालमैत्री नगरमा बालश्रम गर्न बाध्य बालबालिकाः बालश्रममुक्त गर्न खोज्दा आमामाथि बियरको बोतलले प्रहार 

...

कञ्चनपुर,भदौं १८ गते ।
बालश्रममुक्त,सतप्रतिशत बालबालिका विद्यालय भर्ना लगायतका सूचकका आधारमा कञ्चनरुप नगरपालिकालाई मधेश प्रदेशमै सबभन्दा पहिलो र नेपालको तेस्रो  बालमैत्री नगर घोषणा भएको ६ बर्ष बित्दा समेत बालश्रमको अवस्था भयावह रहेको छ ।
तत्कालिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले २०७६ साल भाद्र २० गते कञ्चनरुप नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरेका थिए । तर बालमैत्री कञ्चनरुप नगरपालिकामा एक १५ बर्षिया बालकलाई  बालश्रम नगराउन भन्दा ती बालकको आमालाई बियरको बोतलले कुटपिट गरिएको छ ।  
कञ्चनरुप  नगरपालिका वार्ड नं १० स्थित बदगम्मा गाउँका १५ बर्षिया बालकलाई  बालश्रम गराइको पाइएको हो । कञ्चनरुप ९ रुपनगर स्थित  मुद्रे पेडा भन्डार पसलका संचालिका चंदा गुप्ताले  गत सोमबार साझ ६ः३० बजे कञ्चनरुप नगरपालिका निवासी १० बदगामाकी  नजराना खातुनलाई बियर को बोतलबाट प्रहार गरेर टाउको फुटाएर घाइते बनाएको आरोप लागेको छ ।
होटल संचालिका गुप्ताले १५ बर्षिया ती बालकलाई ६ महिना देखि ललाई फकाई बालश्रम गराउँदै आएकी थिइन् । बालककी आमा खातुनले आफ्नो छोरालाई लिन जादा संचालिका गुप्ताले कुटपिट गरेकी पीडितले जनाएकी छिन् ।
‘म आफ्नो छोरालाई पढ्ने उमेरमा बालश्रम गर्न लगाउदिन , म छोरालाई लिन आएको छु,यति कुरा भने पछि पसलकि साहुनीले मलाई बियरको बोतल टाउकोमा प्रहार गरिन् ।’ बालककी आमाले भनिन,‘ होटल संचालिका गुप्ताले मेरो छोरालाई बाल श्रम गराएको हो । ’
होटेल संचालिका गुप्ताले भारतीय बजार भिमनगरबाट बालकलाई प्रयोग गरेर लागुपदार्थ ओसार पसार गर्न लगाएको आरोप पीडितको आमा खातुनको रहेको छ । उनले भनिन,‘होटेलमा ग्राहकहरु आएपछी मेरो बच्चालाई लागुपदार्थ बेच्न लगाउने गरेको थियो ।’
कसैले बालश्रम गर्न लगाउनु कानुनको बिपरित हो भन्दै खातुनले साहुनीलाई चेतावनी दिएकी थिइन । तर उल्टै कुटाइ खानु परेको छ । घाइते खातुनलाई तत्काल उपचारको लागी कंचनपुरको नगर अस्पतालमा रेफर गरिको थियो । प्राथमिक उपचार पश्चात अस्पालले थप उपचारका लागि बिराटनगर स्थित नोबेल अस्पतालमा रेफर गरिदिएको छ । 
खातुनलाई उपचारको क्रममा कंचनपुरका प्रहरी हवल्दारले जय किसान यादवले मोबाइल खोसेको आरोप समेत पीडितले लगाएको छ । प्रहरीसँग मोबाइल माग्दा होटल संचालिका गुप्तालाई  बोलाए दिन्छु भन्दै आएका छन् । पैसा अभावमा खातुनले थप उपचार गराउन समेत जान पाएकी छैनन् । पीडित महिलाले मंगलबार इलका प्रहरी कार्यालयमा गुप्ता विरुद्धमा उजुरी दिएकी छिन्  ।
 

प्रतिक्रिया