कञ्चनपुर, असाेज २ गते ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–६, महुलीमा बुधबार बिहान एक युवक मृत अवस्थामा भेटिएका छन् । स्थानीय रामकाजी पोखरेलका २८ वर्षीय छोरा इश्वर पोखरेल बिहान ७ बजे महुली बजारदेखि ३ सय मिटर पूर्व, घुरण चौधरीको धानखेतको आलीमा मृत फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार स्थानीयले युवकलाई खेतको आलीमा ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेका प्रहरीले उनलाई मृत अवस्थामा फेला पारेको जनाइएको छ।
प्रहरीले घटना बारे अनुसन्धान जारी राखेको छ। यसै क्रममा, इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी महेन्द्र नेपालले अनुसन्धान टोली खटाइएको र अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
मंगलबार विश्वकर्मा पूजाको अवसरमा महुली बजारमा आयोजित साँस्कृतिक कार्यक्रममा युवाहरूबीच सामान्य झडप भएको जानकारी स्थानीयले दिएका छन् । यद्यपि, इश्वर पोखरेलको सो झडपमा संलग्नता भए–नभएको विषयमा कुनै पुष्टि भइसकेको छैन।
स्थानीयका अनुसार, मंगलबार साँझ बजार गएको भनिएका पोखरेल घर नफर्किएको जनाइएको छ। वैदेशिक रोजगारीमा रहेका उनी केही हप्ताअघि आमाको झुन्डिएर भएको मृत्युको कारण स्वदेश फर्किएका थिए ।
प्रतिक्रिया