राजविराज, असोज ५ गते ।
जनता समाजवादी पार्टी (जसपा) समाजवादी महिला संघ सप्तरीले शनिबार राजविराजको साहसेवा सदनमा जितिया पर्वको उपलक्ष्यमा विशेष शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको अध्यक्षता जसपा समाजवादी महिला संघ जिल्ला अध्यक्ष अनुराधा साहले गरेकी थिइन् भने प्रमुख अतिथिका रूपमा जसपा केन्द्रिय सह(अध्यक्ष एवं पूर्व शिक्षा मन्त्री रेणु कुमारी यादव उपस्थित थिइन्। कार्यक्रमले महिलाहरूको सामाजिक, धार्मिक, र सांस्कृतिक पर्वका महत्व र वर्तमान समाजमा महिलाहरूले खेलेको भूमिकाको विषयमा गहन चर्चा गर्यो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेणु कुमारी यादवले २१ औं शताब्दीमा महिलाहरूले बाराबरी अधिकार पाउन अनिवार्य भएको बताइन्। उनले भनिन्, ूमहिलाहरूले घरपरिवार, समाज र राष्ट्रको विकासमा ठूलो योगदान पुर्याएका छन्। महिला सशक्तीकरण र उनीहरूको अधिकारको सुनिश्चिततामा राज्यले अझै काम गर्न आवश्यक छ।ू उनले विभिन्न पर्वहरूको महत्व र त्यससँग सम्बन्धित विकृतिहरूको बारेमा चर्चा गर्दै, मिथिलाको तीज पर्वमा देखिएका विकृतिहरूप्रति चेतना जगाउन जरुरी रहेको बताइन्। दर खाने संस्कारका नाममा महिलाहरूलाई दलदलमा फस्न बाध्य पार्न सकिने खतरालाई नकार्न सकिँदैन। यस्ता विकृतिहरूविरुद्ध समाजले खुलेर लड्नुपर्छ, उनले थपिन्।
कार्यक्रममा जसपा जिल्ला अध्यक्ष सत्यनारायण यादव, नेता एवं प्रदेश सदस्य अभिषेक यादव, जसपा युवा संघ जिल्ला अध्यक्ष शिवम यादव, र पत्रकार सुधादेव लगायतका व्यक्तिहरू अतिथिका रूपमा सहभागी थिए। विभिन्न नगरपालिका, गाउँपालिका र अन्य स्थानीय क्षेत्रका महिला दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमले महिला सशक्तीकरण र सांस्कृतिक पर्वहरूको संरक्षणबारे विशेष चर्चा गर्यो।
कार्यक्रमको समापनमा अध्यक्ष अनुराधा साहले जसपा समाजवादी महिला संघले सुरु गरेको यो शुभकामना आदानप्रदान कार्यक्रमलाई हरेक वर्ष मनाइने प्रतिबद्धता जनाइन्। उनले जितिया पर्वको महत्वबारे चर्चा गर्दै यस पर्वमा विशेष प्रकारका खाद्य पदार्थहरू माछा, दही, चुरा, चिनी, रोटी आदिको विशेष भूमिका रहेको बताइन्। अन्त्यमा, उनले जितिया पर्वको सफलताको लागि सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापनको घोषणा गरिन्।
महिला अधिकारको सन्दर्भमा जसपाले यो पर्वको माध्यमबाट महिलाको सशक्तीकरण र सामाजिक योगदानलाई उजागर गर्ने प्रयत्न गरेको छ।
महिलाहरूले आफ्नो परिवारको दीर्घायु र सुख(शान्तिका लागि मनाउने जितिया पर्वले समाजमा महिला नेतृत्वको आवश्यकता अझै पनि महत्त्वपूर्ण रहेको देखाएको छ। कार्यक्रमको सफल सञ्चालन जसपाका जिल्ला समिति सदस्य चितरंजन यादवले गरेका थिए।
प्रतिक्रिया