जनकपुर,असोज ७ गते । मधेश प्रदेश लोकसेवा आयोगका सहायक लेखापाल रामप्रवेश यादवमाथि पदीय दुरुपयोग गर्दै आफ्नै श्रीमति र भाउजुलाई अवैध रूपमा लोकसेवाको परीक्षा पास गराएको आरोप लागेको छ। यस आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
जनकपुरधामस्थित मधेश प्रदेश लोकसेवा आयोगमा कार्यरत यादवले आफ्नो श्रीमति सितापति देवी र भाउजु मोनिका यादवलाई गैरकानुनी रूपमा लोकसेवा परीक्षामा पास गराएको आरोप लागेको छ। उजुरीमा भनिएको छ कि यादवले विज्ञापन नम्बर १३१/०७९-८० खुल्लातर्फ, विज्ञापन नम्बर १३२/०७९-८० को मधेश प्रदेश तथा दलित महिला कोटामा, र विज्ञापन नम्बर १३४/०७९-८० को मुस्लिम महिला कोटामा आफ्नो पदको दुरुपयोग गरी नातेदारलाई सफल गराएको दाबी गरिएको छ।
असन्तुष्ट परीक्षार्थीहरूको गुनासो
यस प्रकरणले परीक्षामा सहभागी अन्य उम्मेदवारहरूबीच पनि असन्तोष फैलाएको छ। परीक्षार्थीहरूले ४५ देखि ४७ प्रश्नको सही उत्तर दिएर पनि नाम निस्किन नसकेको गुनासो गरेका छन्। उनीहरूले परीक्षा प्रक्रियामा आन्तरिक हेरफेर भएको आशंका व्यक्त गर्दै, रामप्रवेश यादवले आफ्ना नातेदारहरूको नाम निकाल्न अनियमितता गरेको आरोप लगाएका छन्।
छानबिनको माग
यस घटनालाई लिएर परीक्षार्थीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन गरी दोषीहरूमाथि कारबाही गर्न निवेदन दिएका छन्। "राष्ट्रिय सेवक नागरिक" नामको समूहले आयोगमा उजुरी दर्ता गराउँदै यस प्रकरणको गम्भीर छानबिनको माग गरेको छ। यो निवेदन सामाजिक सञ्जालमा समेत पोष्ट गरिएको छ, जसले सार्वजनिक चासो बढाएको छ।
सहायक लेखापाल रामप्रवेश यादवसँग यस विषयमा सम्पर्क गर्न खोज्दा कुनै प्रतिक्रिया प्राप्त हुन सकेन।
प्रतिक्रिया