स्वर्गीय कुसुमलाल मण्डलको परिवारलाई मलेसियामा रहेका सप्तकोशीका युवाहरूबाट आर्थिक सहयोग

...

कञ्चनपुर,असोज ७ गते । 

मलेसियामा कार्यरत सप्तकोशी नगरपालिका ११ का युवाहरूले स्वर्गीय कुसुमलाल मण्डल (प्रदीप)को परिवारलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। रोजगारीको क्रममा मलेसिया गएका मण्डलले २०२४ जुन ११ मा जोहरबारुस्थित आफ्नो कोठामा आत्महत्या गरेका थिए। नेपालस्थित नेपाली राजदूतावासको पहलमा उनको पार्थिव शरीर नेपाल ल्याइएको थियो।

समाजसेवी लिलकान्त मण्डलको नेतृत्वमा गरिएको यस सहयोगले स्वर्गीय मण्डलका दुई सन्तानलाई राहत प्रदान गरेको छ। मण्डलका छोरा जय कान्त मण्डल र छोरी मधु कुमारी मण्डलका लागि जनही १ लाख ५० हजार रुपैयाँको बाल बचत खाता खोलिएको छ। यी खातामा उनीहरूकी आमा यसोधा कुमारी संरक्षकको रूपमा रहनेछिन्। उक्त रकम उनीहरू वयस्क भएपछि मात्र निकाल्न मिल्ने व्यवस्था गरिएको छ, जसले उनीहरूको भविष्यलाई सुरक्षाको प्रत्याभूति दिन्छ।

यसअघि पनि सप्तकोशीका युवाहरूले कञ्चनरुप नगरपालिका ५, पडेमरा टोलमा आगलागी पीडित परिवारलाई राहत सहयोग गरेका थिए। यस प्रकारका सामाजिक कामले विदेशमा रहेका नेपाली समुदायको आपसी सहकार्य र सहयोगको भावना अझ बलियो बनाउने समाजसेवी मण्डलले बताएका छन्।

प्रतिक्रिया