स्थानीय व्यापार र उत्पादनको बलियो समर्थनले मात्र बचाउन सक्छ देशको अर्थतन्त्र

...

देशको आर्थिक अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको कुरा सम्पूर्ण नेपालीका लागि सर्वविदित छ । यस्तो विषम परिस्थिति हामी सबैका लागि चुनौतीपूर्ण बनेको छ । आउँदै गरेको महान चाड दशैँ, तिहार, र छठजस्ता पर्वहरू हामीलाई एक आपसमा सहयोग गर्ने र आत्मनिर्भर बन्ने अवसर प्रदान गर्दछ ।
यसवर्षको चाडपर्वलाई सादगीपूर्वक मनाउने प्रयास गरौँ । यस अवसरमा स्थानीय उत्पादन र व्यापारलाई प्रोत्साहन गर्दै देशको आर्थिक गतिविधिलाई चलायमान बनाउने जिम्मेवारी हामी सबैको हो । स्थानीय व्यापारलाई प्राथमिकता दिनु नै आर्थिक संकटको समाधानतर्फको महत्त्वपूर्ण कदम हो ।
देशका नेताहरूले आ–आफ्नो भूमिका निर्वाह नगरेको समयमा हामीले नागरिक र ग्राहकको हैसियतले आफ्नो कर्तव्य ठानी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेछ । व्यापारी वर्गले पनि यो अभियानलाई साथ दिँदै स्थानीय स्तरमा उत्पादन भएका सामानहरूको बजार विस्तारमा जोड दिनुपर्छ । यसले न केवल हाम्रो अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ, बरु स्थानीय रोजगारीको समस्या समाधान गर्नसमेत मद्दत पुग्छ ।
देशमा हाल श्रमिक र विद्यार्थी पलायन भइरहेको छ, र यदि आर्थिक गतिविधि सुदृढ गर्न सकेनौँ भने भविष्यमा व्यापारीहरू पनि पलायन हुनसक्ने जोखिम छ । त्यसैले हामीले अहिले नै स्थानीय उत्पादन र व्यापारलाई बलियो बनाउनुपर्नेछ । नेपाली उपभोक्ताले पनि विदेशी सामानभन्दा स्थानीय सामानलाई प्राथमिकता दिँदा, व्यापारिक विश्वास र सहकार्य बलियो हुँदै जानेछ ।
नेपाल–भारत खुला सिमानाका कारण विदेशी सामानले हाम्रो बजार ओगटिरहेको अवस्थामा, हामीले आफ्नो उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ । यसले न केवल आर्थिक सन्तुलन कायम राख्छ, बरु बेरोजगारीको समस्यालाई पनि ठूलो हदसम्म समाधान गर्न सक्छ ।
व्यापार क्षेत्रमा आपसी इमानदारी, सहकार्य, र जिम्मेवारीलाई ध्यानमा राख्दै, “नेपाल रहे हामी रहन्छौँ“ भन्ने भावनालाई आत्मसात् गरौँ । हाम्रो गाउँघरमा उत्पादित सामग्रीको खपतलाई प्रोत्साहित गर्नु नै अहिलेको समयको माग हो । साथै, अनावश्यक विलासी सामानहरूको प्रयोगलाई केही समयका लागि न्यून गर्दै, नेपाली उत्पादनको उचित बजारीकरण गर्न आवश्यक छ ।
यो दशैँ, तिहार, र छठको पर्व सबै नेपालीका लागि सुखमय होस् भन्ने शुभकामना । हामी सबै मिलेर देशको अर्थतन्त्रलाई मजबुत बनाउने अभियानमा अघि बढौँ ।
शुभकामना
दशैँ, तिहार, र छठका अवसरमा सम्पूर्ण नेपालीलाई हार्दिक शुभकामना ।
 

प्रतिक्रिया