सप्तकोसी नगरपालिकामा मन्त्री साहको अनुगमनः शहरी विकासमा बजेटको प्रतिबद्धता

...

कञ्चनपुर, असोज ९ गते ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साहले मंगलबार सप्तकोसी नगरपालिकामा भइरहेका विभिन्न विकासीय परियोजनाहरूको अनुगमन गरेका छन् । अनुगमनको क्रममा मन्त्री साहले सप्तकोसी नगरपालिका वडा नम्बर १० मा रहेको बर्थिङ सेन्टर र सर्पदंश अस्पताल, वडा नम्बर ४ मा रहेको विश्वेश्वर बैरागी आधारभूत विद्यालय, तथा खानेपानी योजना सहितका विकासीय परियोजनाहरूको स्थलगत अवलोकन गरे ।
यस अवसरमा मन्त्री साहले बलारदहमा डब्ल्यु एच एचको सहयोग र महुली सामुदायिक विकास केन्द्र तथा सप्तकोसी नगरपालिकाको सहकार्यमा सम्पन्न खानेपानी योजनाको उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले सप्तकोसी नगरको विकास योजनाहरूलाई निरन्तरता दिन र बजेट अभाव हुन नदिन आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
अनुगमनका क्रममा मन्त्री साहले सप्तकोसी शहरी खानेपानी योजनाका निर्माणाधीन ओभरहेड ट्याङ्की, वडा नम्बर ५ मा निर्माणाधीन १५ शैयाको नगर अस्पताल, र वडा नम्बर ४ स्थित मुसहर बस्तीमा “ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल“ तथा महुली सामुदायिक विकास केन्द्रको पहलमा निर्माण भएका भूमिहीन दलितहरूको २० वटा घरको अवस्थाबारे जानकारी लिएका छन् ।
सप्तकोसी नगरपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री साहले नगरको विकासले तीव्रता पाएको बताउँदै, केन्द्र सरकारबाट थप बजेट सुनिश्चित गर्ने आफ्नो जिम्मेवारी हुने बताए । नगर प्रमुख कृष्ण प्रसाद ढकालले भने, सप्तकोसी नगरपालिकालाई केन्द्रबाट अपेक्षित बजेट नआएको हुँदा विकास योजना सुस्त रहेकोमा चिन्ता व्यक्त गरे ।
महुली सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक प्रभु नारायण चौधरीले विभिन्न दातृ निकायको सहयोगमा नगरको विकासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
अन्तरक्रिया कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरूले नगरका समस्या मन्त्री सामु प्रस्तुत गरेका थिए । साथै, कार्यक्रममा नगर उप प्रमुख रिता कुमारी चौधरी, महुली सामुदायिक विकास केन्द्रका अध्यक्ष श्याम कान्त चौधरी, र विभिन्न दातृ निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
मन्त्री साहको यस अनुगमनले सप्तकोसी नगरपालिकामा भइरहेको विकासीय कार्यहरूलाई गति प्रदान गरेको छ । खानेपानी योजना र अन्य विकास परियोजनाहरूले स्थानीय बासिन्दाको जीवनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया