जनकपुर,असोज १० गते । मधेश प्रदेशमा नेपाली कांग्रेस पार्टीले मुख्यमन्त्री परिवर्तनको माग राख्दै सरकारविरुद्ध दबाब बढाउन थालेको छ। बुधबार नेपाली कांग्रेस मधेश प्रदेश समिति र संसदीय दलले संयुक्त रूपमा पार्टी सभापति शेरबहादुर देउवालाई वीरगञ्जमा सरकारको नेतृत्व परिवर्तन गर्न ज्ञापन बुझाएको छ।
कांग्रेस प्रदेश सभापति तथा संसदीय दलका नेता कृष्णा यादवले ‘नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन हुनुपर्छ’ भन्दै ज्ञापन बुझाएका हुन्। यादवले मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा गठबन्धनको सहमति कार्यान्वयन नभएको र सरकारको गतिविधिबारे देउवालाई जानकारी गराएका थिए।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मुख्यमन्त्रीसँग स्पष्टीकरण सोधेका थिए, जसपछि मुख्यमन्त्रीले ८ जना राज्यमन्त्रीलाई अचानक बर्खास्त गरेका थिए। यस घटनाले कांग्रेस र जनमत पार्टी दुवैमा असन्तोष पैदा भएको छ।
सभापति देउवाले पर्सा जिल्लाको पार्टी कार्यालय भवन उद्घाटन गर्दै, कांग्रेसको एकजुटता प्रदर्शन गरे। यद्यपि कांग्रेसभित्र आन्तरिक विवाद देखिए पनि, सरकार परिवर्तनको मागमा भने उनीहरू एकजुट रहेका छन्।
प्रतिक्रिया