कञ्चनपुर, असोज ११ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं १ बैरवामा मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको सम्मान तथा भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम मदरसा मुनेवरुल इस्लामको प्रांगणमा आयोजना गरिएको थियो, जहाँ सयौं स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कञ्चनरुप नगरपालिका वडा नं १ का अध्यक्ष रब्बान खानको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री लेखी प्रमुख अतिथि थिए । उपस्थित व्यक्तिहरूले प्रहरी प्रशासनले सानातिना कुरामा पनि अभद्र व्यवहारको मुद्दा चलाउँदा जनताले कानूनी प्रणालीप्रति विश्वास गुमाउँदै गएको असन्तोष व्यक्त गरेका थिए ।
जनमत पार्टीका प्रत्यासी उम्मेदवार रामदेव शर्माले कार्यक्रममा बोल्दै, खेतमा पानी जमेर निकासको व्यवस्था नहुनु गम्भीर समस्या भएको उल्लेख गरे । उनले यो समस्याले किसानहरूको जीवनमा प्रत्यक्ष असर पारिरहेको र यसको समाधानका लागि तत्काल छलफलको खाँचो रहेको बताए । शर्माका अनुसार, यो समस्या समाधान भएमा किसानहरूको मर्कालाई कम गर्न मद्दत पुग्नेछ ।
मन्त्री लेखीले कार्यक्रममा सम्बोधन गर्दै स्थानीय विकास, शान्ति सुरक्षा र जनताको सेवामा सरकार सधैं तत्पर रहेको बताए । उनले स्थानीय समुदायका गुनासाहरू सुन्ने र समाधानको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मदरसा मुनेवरुल इस्लाममा सम्पन्न यो कार्यक्रममा मदरसाको शिक्षाको दयनीय अवस्थाबारे गम्भीर छलफल गरिएको थियो । कञ्चनरुपमा कुल ९ वटा मदरसा दर्ता भए पनि शिक्षाको गुणस्तर कमजोर रहेको र विद्यार्थीहरू गुन्द्री र चटाईमा बसेर पढ्न बाध्य रहेको गुनासो गरिएको थियो ।
कार्यक्रममा एक सहभागीले मुस्लिम समुदायका विद्यार्थीहरूको शिक्षा र जीवनस्तरमा परिवर्तन कहिले आउने भन्ने प्रश्न उठाए । वडाका सदस्य जैनुदिन मियाले स्थानीय मदरसा बोर्ड गठन गर्नुपर्ने तर सरकारले एक वर्षमा दुई लाख ४० हजार रुपैयाँ मात्र दिने गरेको बताए । यो रकमले ११ जना शिक्षकको तलब व्यवस्थापन असम्भव भएको उनले उल्लेख गरे ।
वडाध्यक्ष रब्बान खानले पनि किसानहरूले जंगली जनावरका कारण खेतीमा समस्या भोगिरहेको र यसको समाधानका लागि घेराबेरा निर्माणको प्रस्ताव गरिएको जानकारी दिए । साथै, विद्यालय र मदरसाका भवनहरूको अभावले शिक्षामा असर गरेको उनले बताए ।
कार्यक्रममा वडा नं १ का सदस्य कलिम शेख, दुर्गानन्द यादव, वडा नं २ का सदस्य इसुफ मंसुरी, वडा नं १२ का सदस्य जैनुदिन मियालगायतका नेताहरूले सम्बोधन गरेका थिए । कार्यक्रममा नेकपा एमालेका जिल्ला उपाध्यक्ष इलताफ शेख, सप्तकोसी नगरपालिकाका वडा नं २ का अध्यक्ष जाहुर हुसेन, जनमत पार्टीका नेता रामदेव शर्मा, प्रभु यादवलगायत कञ्चनरुप नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया