अविरल वर्षाले कञ्चनरुप वडा नं १ मा लाखौंको क्षति

...

कञ्चनपुर, असोज ११ गते । 
अविरल वर्षाका कारण कञ्चनरुप नगरपालिका वार्ड नं १ बैरवामा मस्तकिन खानको घरमा ठूलो क्षति पुगेको छ । बिहीवारदेखि लगातार परेको वर्षाले खानको घरमा पानी पसेर लाखौंको सम्पत्ति नष्ट भएको हो ।
खानको घरभित्रका नगद, जिन्सी सामान, अन्न, लत्ताकपडा र बिछ्यौना लगायतका सामग्रीहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । यस अप्रत्याशित घटनाले खानको परिवारलाई गम्भीर संकटमा पारेको छ ।
स्थानीयहरूले अविरल वर्षाका कारण खाना पकाउन समस्या भएको गुनासो गरेका छन् । यसले बाढीको प्रभावलाई झन् गहिरो बनाएको र खानाको व्यवस्थापन चुनौतीपूर्ण बनाएको छ । स्थानीय युवा नेता अनबारुल खानले भने, “स्थानीय प्रशासन र राहत टोलीहरूले चाँडै राहतमा ध्यान दिनु पर्छ ।“
यसो त, सोही नगरपालिका वार्ड नं २ का बिन्दु रामको घरमा पनि पानी पसेको छ । यसले गर्दा अन्य स्थानीय बासिन्दाहरूमा चिन्ता थपिएको छ । कञ्चनरुपका किसान र बासिन्दाहरूको जीवन यस घटनाले गम्भीर रूपमा प्रभावित भएको छ ।
स्थानिय युवाहरू र नेताहरू राहतका लागि एकजुट भएर आवश्यक कदम चाल्न थालिसकेका छन् । उनीहरूले स्थानीय प्रशासनसँग समन्वय गर्दै राहतको आवश्यकताबारे चाँडै कारवाही गर्नुपर्नेमा जोड दिएका छन् । यस कठिन परिस्थितिमा सहयोग र सहानुभूति सबैका लागि अत्यावश्यक रहेको छ ।

प्रतिक्रिया