कञ्चनपुर, असोज १२ गते ।
सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका वडा नं. १, बैरवामा आकस्मिक वर्षाका कारण एक घर पूर्ण रूपमा भत्किएको छ भने २८ घर डुबानमा परेका छन् । शुक्रबार रातीको अविरल वर्षाका कारण स्थानीय रफिद मंसुरीको सुत्ने घर र भान्सा घर भत्किएको हो ।
क्षेत्रका मल्कोलका सरदार टोल, खंग टोल, यादव टोल र राम टोल पूर्ण रूपमा डुबानमा परेको छ । बाढीले घरभित्र रहेका नगद, जिन्सी सामान, खाद्यान्न, लत्ताकपडा र अन्य उपभोग्य सामग्रीहरू बगाएर क्षति पु¥याएको छ । राम टोलका अधिकांश घरहरूमा बाढी पसेपछि स्थानीय बासिन्दाहरू गम्भीर समस्यामा परेका छन् ।
क्षतिग्रस्त घरधुरीहरूको सूचिमा रफिद मंसुरीसँगै जुमराती मंसुरी, आलिमुदिन मंसुरी, रोजित मंसुरी, जिबलाल ठाकुर, दनालाल ठाकुर, बिन्देसरी राम, राम किसुम राम, रामचन्द्र राम, डोमर राम, मुगाई यादव, बिसुन्देव यादव, मुकेश यादव, रेसमलाल शाह, नारायण यादव, डोमर खंग, जग्दिश खंग, अनरुद्द खंग, जेलाल खंग, प्रभु खंग, जेलेवि खंग, असरफी खंग, भुटाइ खंग, सम्पैत खंग, रामु खंग, महेश खंग लगायतका २८ जना रहेका छन्, जसका घरहरू डुबानमा परेका छन् ।
बाढीले मल्कोलको यादव बस्ती र मुस्लिम बस्ती पूर्वका झण्डै सयौं बीघा जमिनको धानबाली नष्ट गरेको छ । बाढीले घरभित्र रहेका आधारभूत आवश्यकताका सामग्रीहरू–जस्तै अन्न, लत्ताकपडा, नगद र बिछ्यौनाहरूलाई बगाएकोले पीडितहरू अहिले अत्यन्त कठिन अवस्थामा छन् ।
स्थानीय प्रभु यादवका अनुसार बाढीले यादव टोलका २८ घरहरूमा पानी पसेको छ, जसका कारण घरधुरीहरू पूर्ण रूपमा प्रभावित भएका छन् । पीडित रफिद मंसुरीले बाढीले उपभोग्य वस्तुहरूलाई काम नलाग्ने बनाएको बताए। साथै, घरहरू डुबानमा परेपछि चुल्हो बाल्नसमेत समस्या भएको र धेरै परिवारहरू अहिले भोजन पकाउनसमेत असमर्थ छन् ।
सप्तरीको यो क्षेत्र विगतमा पनि बाढीका कारण प्रभावित हुँदै आएको छ, तर यसपटकको क्षति विशेष रूपमा गम्भीर रहेको स्थानीय बासिन्दाहरूले बताएका छन् ।
प्रतिक्रिया