सप्तरी कारागारमा कैदी महिलामाथि बलात्कार, प्रशासनिक कर्मचारीमाथि आरोप
राजविराज, असाेज १२ गते ।
सप्तरी कारागारमा जन्मकैदको सजाय भोगिरहेकी एक महिला कैदी बलात्कृत भएको आरोपसहित जाहेरी दिएकी छिन् । पिडित महिलाले कारागार प्रशासनमा कार्यरत कार्यालय सहयोगीबाट बलात्कृत भएको बताउँदै गत भदौ २१ गते जिल्ला प्रहरी कार्यालय उदयपुरमा किटानी जाहेरी दिएकी हुन् ।
महिला कैदीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, र आत्महत्या दुरुत्साहन जस्ता गम्भीर कसुरमा जन्मकैद भुक्तान गरिरहेकी छिन् । उनी २०७६ साउन १६ गतेदेखि सप्तरी कारागारमा कैद भुक्तान गरिरहेकी थिइन् । जाहेरीमा उनले कार्यालय सहयोगी चन्द्रनारायण यादवले प्रशासनिक भवनको बिजुलीघरमा बलात्कार गरेको आरोप लगाएकी छिन् ।
घटनाको विवरण
जाहेरीअनुसार, पिडित महिला कैदीहरूमध्ये ’नाइके’ भएकाले प्रशासनिक भवनमा आउजाउ गर्न छुट थियो । घटनाको दिन उनी प्रशासनिक भवन पुगेकी थिइन्, त्यहाँ यादवले “तपाईंसँग जरुरी कुरा छ“ भन्दै बिजुलीघरको कोठामा लगेका थिए । पिडितले यादवले ढोकाको चुकुल लगाएर सल थुतेर हात बाँधेको र मुख बन्द गर्दै बलात्कार गरेको बताएकी छिन् । जब उनले प्रतिवाद गर्न खोजिन्, यादवले बोतल देखाउँदै “हल्ला गरे अनुहारमा एसिड खन्याइदिन्छु“ भनेर धम्की दिएको पिडितको भनाइ छ ।
घटनापछि कारागारबाट सरुवा
घटनाको हल्ला फैलिँदै जाँदा आरोपी यादवले पोल खुल्ने डरले पिडित महिलालाई कारागार प्रशासनसँग मिलेर अन्यत्र सरुवा गराएको पत्ता लागेको छ । फागुन ९ गते सिराहा कारागारमा सरुवा गराइएकी महिला गत असारमा पुनः सप्तरी कारागारमै फर्काइएकी थिइन् । साउन ८ गते उनलाई उदयपुर कारागारमा पठाइएको थियो ।
उदयपुर पुगेपछि पिडितले भदौ २१ गते आरोपी यादवविरुद्ध गाईघाटस्थित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । उदयपुर प्रहरीले घटनास्थल सप्तरी भएको भन्दै जाहेरी भदौ ३० गते सप्तरी प्रहरीमा पठाएको हो ।
अनुसन्धान सुरु
सप्तरी प्रहरीका डीएसपी ढुण्डिराज न्यौपानेले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु भएको जानकारी दिएका छन् । तर, उनले घटनाबारे थप विवरण खुलाउन नमिल्ने बताए ।
यस घटनाले कैदीहरूको सुरक्षाका साथै कारागार प्रशासनको भूमिकाबारे गम्भीर प्रश्न उठाएको छ । घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गरिएको छ ।
प्रतिक्रिया