अविरल वर्षा, पहिरो, चट्याङ र बाढीका कारण ६२ जनाको मृत्यु, ८३ जना बेपत्ता, उद्धार कार्य जारी

...

कञ्चनपुर, असोज ११ गते  ।
पछिल्लो केही दिनयता परेको अविरल वर्षा, पहिरो, चट्याङ र बाढीका कारण देशभर ठूलो जनधनको क्षति भएको छ । नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार, यी प्राकृतिक विपत्तिहरूले गर्दा हालसम्म ६२ जनाले ज्यान गुमाएका छन् भने ३६ जना घाइते भएका छन् । साथै, ८३ जना अझै बेपत्ता रहेको प्रहरीको सूचना छ ।
देशका विभिन्न भेगमा लगातार परेको वर्षाले बाढी र पहिरोको जोखिम बढाएको छ । विशेषगरी हिमाली र पहाडी जिल्लाहरूमा पहिरोको प्रभाव बढी देखिएको छ । बाढीका कारण तराई क्षेत्रमा घर र जमिन डुबानमा परेका छन् भने पहाडमा पहिरोले गर्दा सडक अवरुद्ध भएका छन् । थुप्रै बस्तीमा पहिरो र बाढी पसेपछि स्थानीयवासी विस्थापित भएका छन् । प्रहरीका अनुसार बाढी र पहिरोका कारण स्थानीय यातायात सेवा पनि ठप्प छ ।
नेपाल प्रहरीले विपद् व्यवस्थापनका लागि तीव्र उद्धार कार्य सञ्चालन गरिरहेको छ । हालसम्म १४,५९६ जनाको सफल उद्धार गरिएको छ । उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, तथा स्थानीय स्वयंसेवकहरू खटिएका छन् । बेपत्ताहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको छ भने घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल पु¥याउने व्यवस्था गरिएको छ ।
प्रहरीका अनुसार अहिलेसम्म उद्धार गरिएका व्यक्तिहरूको अवस्था सामान्य रहेको बताइएको छ, तर कतिपय घाइतेहरूको अवस्था चिन्ताजनक छ ।
सहयोगका लागि सम्पर्क नम्बरहरू सार्वजनिक
नेपाल प्रहरीले विपद्का समयमा जनतालाई आवश्यक सहयोग उपलब्ध गराउन विभिन्न सम्पर्क नम्बरहरू सार्वजनिक गरेको छ । निःशुल्क फोन नम्बर १०० मा फोन गरेर कुनै पनि जानकारी वा सहयोग माग्न सकिनेछ । त्यस्तै, केन्द्रीय प्रहरी परिचालन कक्षमा पनि ९८५१२१८५६३५ नम्बरमा सम्पर्क गर्न सकिन्छ । ट्राफिक व्यवस्थापनका लागि १०३, बालबालिका खोज तथा उद्धारका लागि १०४, र प्रहरी गुनासो सम्बोधनका लागि ११११३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
सुरक्षा निकायले सबैलाई सतर्क रहन आग्रह गरेको छ, किनभने मौसम पूर्वानुमान अनुसार आगामी केही दिनसम्म पनि वर्षा जारी रहने सम्भावना छ । यस अवस्थामा बाढी, पहिरो र चट्याङको जोखिम अझै कायम रहेकोले सुरक्षित स्थानमा बस्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न भनिएको छ ।
स्थानीय बासिन्दाहरूको अवस्था चिन्ताजनक
देशका विभिन्न स्थानमा रहेका बस्तीहरू पहिरो र बाढीका कारण उच्च जोखिममा परेका छन् । सरकारी तथा गैरसरकारी संस्थाहरूले राहत सामग्री वितरण र स्वास्थ्य सेवा उपलब्ध गराउने काम गरिरहेका छन् । विस्थापित बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्ने कार्य पनि जारी छ ।
प्रहरी र सेनाले जोखिमयुक्त स्थानमा रहेका बासिन्दाहरूलाई यथाशीघ्र सुरक्षित स्थानमा जान अनुरोध गरेका छन् । त्यस्तै, स्थानीय निकायहरूले पनि विपद्को अवस्थामा सहयोग गर्न र सुरक्षित रहन अपिल गरेका छन् ।

प्रतिक्रिया