कञ्चनपुर, असोज १३ गते । अविरल वर्षाका कारण देशभरि बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिले ठूलो जनधनको क्षति पुर्याएको छ । नेपाल प्रहरीले आईतबार दिउसो १ बजेसम्मको विवरणअनुसार १२५ जनाले ज्यान गुमाएका छन् भने ६८ जना घाइते भएका छन् । हालसम्म ६२ जना मानिस बेपत्ता रहेका छन् ।
प्रहरीका अनुसार गत असोज ११ गतेदेखी असोज १३ गते १ बजेसम्मको विवरण अनुसार उक्त क्षति भएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार, देशका विभिन्न प्रभावित क्षेत्रहरूबाट अहिलेसम्म ३२,६६६ जनालाई उद्धार गरिएको छ। उद्धार कार्य जारी रहेकाले थप व्यक्तिहरूलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको बताइएको छ ।
प्रहरीले सर्वसाधारणलाई बाढी र पहिरोको उच्च जोखिम भएका क्षेत्रहरूमा यात्रा नगर्न अनुरोध गरेको छ। साथै, बाढीले सडक अबरुद्ध गरेको र यातायातका साधन चलाउन कठिनाइ भएको अवस्थामा स्थानीय प्रहरी कार्यालयसँग सम्पर्क गर्न आग्रह गरेको छ।
सहायता र जानकारीको लागि सम्पर्क नम्बरहरूः
प्रहरी आपतकालीन सेवाः १०० (निशुल्क)
ट्राफिक प्रहरीः १०३
बाल अधिकार संरक्षणः १०४
महिला तथा बालबालिका सेवाः १११३
यसैगरी, प्रहरीको केन्द्रीय प्रहरी परिचालन कक्ष (नक्साल) मा सम्पर्क गर्न चाहनेहरूका लागि ९८५१२८२६३५ नम्बर उपलब्ध गराइएको छ। नेपाल प्रहरीले थप उद्धारकार्यलाई तीव्रता दिइरहेको छ र सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न र कुनै आपत्कालीन स्थिति भएमा तुरुन्तै प्रहरीसँग सम्पर्क गर्न पुनः अनुरोध गरेको छ।
प्रतिक्रिया