कञ्चनपुर,असोज १३ गते ।
सरदार बाँतर संघर्ष समिति नेपालले बाँतर समुदायमाथि भइरहेको जातीय पहिचान र अधिकारको उल्लंघनप्रति गहिरो चिन्ता व्यक्त गर्दै कडा निन्दा गरेको छ ।
गत असोज ७ गते सप्तरीको खडक नगरपालिका ६ कल्याणपुरमा थारु कल्याण कारिणीसभा सप्तरीको नवौं अधिबेशनबाट नवनिर्वाचित पदाधिकारीलाई सपथग्रहण तथा प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै युवा तथा खेलकुद विकास मन्त्री तेजुलाल चौधरीले बाँतर समुदायलाई थारुमा सुचिकृत गर्नेपर्ने प्रस्ताव गरेका थिए ।
समितिले आईतबार जारी गरेको विज्ञप्तिमा बाँतर जातिको ऐतिहासिक पहिचानलाई अस्वीकार गर्दै, समुदायलाई विभाजन गर्ने प्रयासप्रति कडा विरोध जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, “बाँतर जातिको आफ्नो ऐतिहासिक पहिचान छ। यो समुदायको अस्तित्वलाई चुनौती दिइरहेको अवस्था गम्भीर हो। राज्य र समाजमा बाँतर जातिलाई कुनै पनि प्रकारको विभाजन र अपमान स्वीकार्य छैन।“ समितिले जनसमुदाय र सरकारलाई बाँतर जातिको इतिहास, पहिचान र अधिकारको सम्मान गर्न आग्रह गरेको छ।
समितिका सचिव बिरेन्द्र सरदार बाँतर र अध्यक्ष रामकुमार सरदार बाँतरले हस्ताक्षर गरेको विज्ञप्तिमा बाँतर समुदायमाथि भइरहेको अन्यायलाई तत्काल रोकी, समुदायको राजनीतिक, सामाजिक, र सांस्कृतिक अधिकारको सम्मान गर्न विशेष ध्यान दिनुपर्ने माग गरिएको छ।
साथै, जातीय आधारमा विभाजनको प्रयास कुनै पनि हालतमा सह्य नहुने भन्दै, समग्र बाँतर समुदाय एकताबद्ध भएर आफ्नो हक अधिकारको लागि संघर्ष गर्नुपर्नेमा जोड दिइएको छ। विज्ञप्तिले कुनै पनि कानुनी तथा संवैधानिक अधिकारको उल्लंघन नगरी समुदायको पहिचानलाई संरक्षण गर्न सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
समितिले बाँतर सरदार जातीयतामाथि भइरहेको विभेद र अत्याचारप्रति गहिरो भर्त्सना गर्दै, सम्बद्ध पक्षले यसको अन्त्य गर्न तत्काल कदम चाल्नुपर्ने बताएको छ ।
प्रतिक्रिया